बागलुङका बाढी पीडितलाई बागलुङ समाज पोर्चुगलको ९ लाख सहयोग

ढोरपाटनका बाढी पीडितलाई राहत हस्तान्तरण गर्दै वडा न.९ का अध्यक्ष हरिबहादुर घर्ति ।

आदर्श अनलाइन, बागलुङ

बागलुङका विभिन्न ठाउँमा बाढीबाट पीडित भएकाहरुलाई बागलुङ समाज पोर्चुगलले ९ लाख ४० हजार रुपैया सहयोग गरेको छ ।

समाजले ढोरपाटन नगरपालिकाका पहिरो पीडितका लागि ८ लाख, तमान र निसीखोलाका बाढी पीडितलाई ४० हजार र जैमिनी नगरपालिकाका बाढी पीडितलाई १ लाख रुपैया सहयोग गरेको छ ।
ढोरपाटनमा पहिरोमा परी धेरै जनधनको क्षति भएपछि बागलुङबाट पोर्चुगल गई विभिन्न पेशा व्यवसायमा रहेकाहरुले गठन गरेको बागलुङ समाज पोर्चुगलले आर्थिक सहयोग संकलन अभियान थालेको थियो ।

बागलुङ समाज पोर्चुगलले संकलन गरेको ९ लाख ४० हजार रुपैया मध्ये १ लाख रुपैया जैमिनीका बाढी पीडितलाई, ८ लाख रुपैया ढोरपाटनका बाढी पीडित तथा ४० हजार रुपैया तमानखोला र निसीखोला गाउँपालिकाका बाढी पीडितलाई सहयोग प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले जानकारी दिनुभयो ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा एम्पाएर घम बहादुर थापाको सहजीकरणमा ढोरपाटनका बाढी पीडितलाई सहयोग हस्तान्तरण गरिएको थियो ।

ढोरपाटनमा २३ मृतकका परिवारलाई ९ हजारका दरले र ७३ क्षतिग्रस्त घरपरिवारलाई ८ हजारका दरले तथा जैमिनीमा ३ मृतकका परिवारलाई १५ हजार ५५ र ६ क्षतिग्रस्त घर परिवारलाई ९ हजार १ सय ४० का दरले रकम हस्तान्तरण गरेका छौ, अध्यक्ष खड्काले भन्नुभयो –‘सानो सहयोगले पीडित परिवारमा सहयोग पुग्ने देखेर हामीले सहयोग संकलन अभियान शुरु गरेका थियौ, जुन एक हदसम्म सफल भएको हामीले ठानेका छौ ।’

भदौ १७ गते आएको पाढी पहिरोबाट ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ मा २३ जनाको मृत्यु भएको भने १४ जना अझै वेपत्ता रहेका छन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो ।

बाढीले ८० घर पूूर्ण रुपमा क्षति गराएको छ । ५१ घरमा आंशिक क्षति पुगेको छ भने ११ वटा लघु जलविद्युत आयोजना, एक स्वास्थ्य इकाई, ११ झोलुंगे पुल, ५ वटा ढलान पुल, १० वटा काठेपुल र दुई विद्यालय सहित ७१ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।

जैमिनीका पहिरो पीडितलाई समाजको तर्फबाट सहयोग हस्तान्तरण गर्दै राष्टिय सहकारी महासंघका सञ्चालक सदस्य अञ्जु जिसी ।

पोर्चुगल समाजले संकलन गरेको सहयोग अभियानमा सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरु राहत वितरणमा सहयोग गर्ने खेलाडि, जिल्ला सहकारी संघ बागलुङ लगायत सहयोगी सबैलाई समाजका अध्यक्ष खड्काले धन्यवाद ज्ञापन गर्नु भएको छ । समाजले संकलन गरेको रकम मध्ये जैमिनीका बाढी पीडितलाई जिल्ला सहकारी संघ बागलुङको सहजीकरणमा रकम हस्तान्तरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *