एकता सहकारीको आव्हान : दोहोरो सदस्यता बन्द गरौ

आदर्श अनलाइन, बागलुङ
एकता सहकारी संस्था लिमिटेड बागलुङले सहकारी ऐन २०७४ को व्यवस्था अनुसार अन्य संस्थाको सदस्यता त्याग गरी एकता सहकारीमा मात्र सदस्यता कायम गर्न आफ्ना शेयर सदस्यहरुलाई आव्हान गरेको छ ।

संस्थाले आइतवार सार्वजनिक सूचना प्रकाशित गरी असोज मसान्त भित्र बागलुङ जिल्ला भित्रका अन्य वचत तथा ऋण सहकारी संस्थामा सदस्य भएका आफ्ना शेयर सदस्यहरुलाई अन्यत्र सदस्यता त्याग गरी एकता सहकारी संस्थामा मात्र सदस्यता कायम गर्न आव्हान गरेको हो ।

सहकारी ऐन २०७४ अनुसार कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एक भन्दा बढी संस्थामा सदस्य हुन नपाइने व्यवस्था रहेको छ । ऐन प्रारम्भ हुनु भन्दा अघि कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एक भन्दा बढी संस्थाको सदस्य रहेको भए ऐन प्रारम्भ भएको मितिले तीन वर्ष भित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नु पर्नेछ भन्ने ऐनमा उल्लेख छ । सहकारी ऐन २०७४ कात्तिक १ गतेदेखि लागु भएको थियो । ऐनमा व्यवस्था भएको तीन वर्षको अवधी आगामी असोज मसान्तमा सकिदैछ ।

सहकारी ऐनले गरेको व्यवस्था अनुसार आगामी असोज मसान्त पछि एउटै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको सदस्य हुन नपाइने भएकाले एकता सहकारी संस्थाका शेयर सदस्यहरुलाई अन्य वचत तथा ऋण सहकारीको सदस्यता त्याग गरी एकतामा मात्रै सदस्य बन्न आव्हान गरिएको संस्थाका सचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो ।

यसैबीच एकता सहकारी संस्था लिमिटेडको हालै सम्पन्न सञ्चालक समितिको वैठकले संस्थालाई थप सुशासनयुक्त र प्रभावकारी बनाउनका लागि राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सहभागि हुने निर्णय गरेको छ । बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमले सहकारीको सञ्चालन प्रक्रियालाई नीति, विधि र प्रविधियुक्त बनाउन सहयोग पुग्ने भएकाले स्तरीकरण अन्तर्गत केयर कार्यक्रममा सहभागी हुने निर्णय गरिएको संस्थाका प्रवन्धक दीपक राजभण्डारीले जानकारी दिनुभयो ।

संस्थाले दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरी संस्थाका शेयर सदस्यहरुलाई ८ प्रतिशतमा ऋण लगानी गर्ने भएको छ । शेयर सदस्यहरुलाई चाडवाड कर्जा अन्तरगत बढीमा ८ लाखसम्म ८ प्रतिशतमा कर्जा लगानी गर्न लागिएको अध्यक्ष ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । यस्तै अन्य संस्थाबाट एकता सहकारी संस्थामा ऋण स्थानान्तरण गर्ने शेयर सदस्यहरुलाई सेवा शुल्क छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *