घान्द्रुकमा दसैंतिहारमा कडा ‘लकडाउन’

आदर्श अनलाइ, पोखरा

दसैंको बिदा सुरु भएपछि घान्द्रुकमा स्वेदशी लर्को नै लाग्थ्यो । माछापुच्छ्रेको शीर हातैले छुन सकिनेजस्तो दृश्य हेर्न आएका पाहुनलाई सत्कार गर्दै फुर्सन पाउने थिएनन् स्थानीयले ।

अहिले अवस्था फेरिएको छ । पहिला पर्यटकका लागि आकर्षक प्याकेज सार्वजनिक गर्ने घान्द्रुक वासीले यसपालिको दसैंमा भने पर्यटक मात्रै हैन भान्जाभान्जी र छोरी ज्वाइँलाई समेत गाउँमा नआउन आग्रह गरेका छन् ।

घान्द्रुक पर्यटन समितिले बिहीबार बैठक नै बसेर आफूहरू टीका थाप्न बाहिर नजाने र बाहिरबाट पनि कसैलाई नआउन नदिने निर्णय गरेको हो ।

समिति अध्यक्ष स्थानीय अगुवा किसम गुरुङले भने, ‘हामी मावली, ससुराली पनि टीका थाप्न नजाने,‘भान्जाभान्जी, छोरीज्वाइँ कसैलाई पनि नआउन भनिएको छ ।’ गाउँले बिरामी परेमा र अत्यावश्यक कामबाहेक गाउँबाट बाहिर ननिस्कने निर्णय गरिएको छ ।

समितिले गरेको निर्णय गाउँका सबै टोलमा पु¥याउन समूह बनाएर खटाइएको अध्यक्ष गुरुङले बताए ।

आफन्त र नातागोता भनेर गाउँ पस्न दिँदा कोरोना सर्ने डर भएकाले यो निर्णय गरिएको उनले सुनाए । घान्दु्रकमा अहिलेसम्म कोरोना संक्रमणमुक्त छ । घान्द्रुक कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० र ११ नम्बर वडामा पर्छ ।

पदयात्राका लागि प्रख्यात अन्नपूर्ण बेस क्याम्प जाने घान्द्रुक भएरै हो । पोखरा र मुुलुकमा अन्य ठाउँमा कोरोना संक्रमण कम नभएपछि घान्द्रुकमा होटेल र होमस्टेहरु खुलेका छैनन् ।

पोखरा र अन्य ठाउँमा असोज १ गतेबाट होटेल रेस्टुरेन्ट खुलेका छन् । घान्द्रुक प्रवेश गर्ने नाका युवाहरु खटिएर आवतजावतको निगरानी गरिरहेको स्थानीयले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *