बेनी एक हप्ता बन्द

आदर्श अनलाइन, बेनी  
म्याग्दीको सदरमुकाम बेनी बजारलाई शुक्रबार रातिदेखि लागू हुने गरी एक हप्ताका लागि बन्द गरिएको छ । 

लक्षणसहितका कोरोना (भाइरस) संक्रमित भेटिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय, म्याग्दीले कात्तिक २१ गते १२ बजेसम्मका लागि बजार बन्द गरेको हो । 

कोरोना संक्रमण थप फैलन नदिन बेनी नगरपालिकाको आग्रह र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार बजार बन्द गरिएको सीडीओ उमाकान्त अधिकारीले जानकारी दिए ।

म्याग्दी उद्योग वाणिज्य संघले पनि भिड नियन्त्रण र जोखिम न्युनिकरणका लागि लकडाउन गर्न आग्रह गरेको थियो । बेनी नगरपालिका, वडा कार्यालय, सदरमुकामस्थित बैंक, वित्तीय संस्था र सरकारीबाट प्रदान गरिने सेवा बन्द हुने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । 

औषधिबाहेकका पसल खेल्नका लागि बिहान ८ देखि १० बजे (दुई घण्टा)को समय तोकिएको छ । ‘सूचनामा उल्लेखित कार्यालय र संस्था खुल्छन् तर सेवा प्रवाह हुँदैन,’ प्रजिअ अधिकारीले भने, ‘अन्य सरकारी कार्यालय र यातायात सेवामा लकडाउनले असर गर्दैन ।’  

पसल, अन्य सरकारी कार्यालय र यातायातका साधन सञ्चालनका क्रममा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरिने बेनी नगरकार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए । अत्यावश्यक कामबाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घर बाहिर निस्कन रोक लगाइएको छ । 

लकडाउनको अवधिमा संक्रमित जिल्लाबाट म्याग्दीमा आवतजावत नगरिदिन समेत प्रशासन र नगरपालिकाले आग्रह गरेका छन् । केही दिनयता जिल्ला सदरमुकाम बेनी बजारका व्यवसायी, सहकारीका कर्मचारी र स्थानीयबासीमा कोरोना (भाइरस) संक्रमण हुने क्रम बढेको छ । 

सदरमुकाम अवस्थित बेनी नगरपालिका–७, ८ र ९ मा शुक्रबार क्रमश वर्ष ५४, ५५ र २१ का तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । उनीहरु कन्ट्याक्ट टे«सिङबाट पहिचान भएका कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । 

स्वास्थ्य अवस्था सामान्य भएका उनीहरु स्थानीय र होम आइसोलेशनमा छन् । कात्तिक १२ गते कन्ट्याक्ट ट्रेसिङमा परेका र आइसोलेशनमा रहेका १८ जनाको स्वाब नमुना संकलन गरेर परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा पठाइएको थियो । 

म्याग्दीबाट हालसम्म एक हजार ८५४ वटा स्वाबको नमुना संकलन गरेर परीक्षणका लागि पठाइएकोमा एक हजार ८४४ वटाको नतिजा आएको छ । १० वटाको नतिजा आउन बाँकी छ।

म्याग्दीमा कोरोना संक्रमितको संख्या ८९ जना पुगेको छ । ८ जना महिला र ५२ जना पुरुषले कोरोना जितेका छन् । जिल्ला बाहिर गई संक्रमण पुष्टि भएका ६ जनाको औपचारिक र ४ जनाको अनौपचारिक जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *