आदर्श सञ्चारको साधारणसभा ७ ठाउँमा हुने


आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभा एकाई सभाका रुपमा हुने भएको छ । संस्थाले ७ वटा एकाई सभाका रुपमा साधारणसभा गर्न लागेको हो । संस्थाले जिल्ला सदरमुकाममा बागलुङ बजारमा ३ र सदरमुकाम भन्दा बाहिर ४ स्थानमा साधारणसभा गर्ने तयारी गरेको छ । संस्थाले कात्तिक १९ मा जारी गरेको सूचना अनुसार ०७७ मंसिर २० गते काठेखोला गाउँपालिकाबाट साधारणसभा शुरु हुने भएको हो । मंसिर २१ गते गलकोट बजार, २२ गते बरेङ गाउँपालिकाको खट्ट र मंसिर २३ गते जैमिनी नगरपालिकाको कुश्मिसेरामा एकाई सभा हुने भएको छ । बागलुङ नगरपालिकालाई ३ वटा एकाईमा विभाजन गरी साधारणसभा गर्न लागिएको संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी. (अञ्जु) ले जानकारी दिनुभयो ।

मंसिर २४ गते बागलुङ नगरपालिका वडा नं. ५ देखि १४ सम्मका शेयर सदस्यहरुका लागि बागलुङ बजारमा साधारणसभा हुने भएको छ । त्यस्तै २५ गते बागलुङ नगरपालिका वडा नंं ३ र ४ का शेयर सदस्यहरुका लागि र २६ गते वडा नं. १ र २ का शेयर सदस्यहरुका लागि बागलुङ बजारमा एकाई सभा गर्न लागिएको संस्थाले जनाएको छ । सहकारी ऐनको दफा ४० (५), नियमावलीको दफा १८ तथा सहकारी विभागद्वारा जारी सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका– २०७६ अनुसार साधारणसभाको मिति र कार्यसूची तय गरी साधारणसभा आव्हान गरिएको संस्थाले जनाएको छ ।

एकाई सभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा मंसिर २७ गते बागलुङ बजारमा गरिने भएको छ । कोरोना संक्रमणको जोखिम समेतलाई मध्यनजर गरी सुरक्षाको उचित प्रवन्धका साथ ७ ठाउँमा साधारणसभा गरिने अध्यक्ष जिसीले जानकारी दिनुभयो । २ हजार भन्दा बढी शेयर सदस्य भएका सहकारी संघ संस्थाहरुले प्रतिनिधिमुलक साधारणसभा गर्न पाइने व्यवस्था सहकारी ऐन र नियमावलीमा रहेको छ । आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार १ सय शेयर सदस्य रहेका छन् ।

एकाई सभाका रुपमा सञ्चालक समितिले तय गरेको एकाई अन्तरगतका शेयर सदस्यहरुलाई सम्बन्धित एकाई अन्तरगतको एकाई सभामा सहभागिताका लागि आव्हान गरिएको संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काले जानकारी दिनुभयो । सूचना तथा सञ्चार अन्तरगत धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक प्रकाशन, आदर्शसञ्चार अनलाइन सञ्चालन तथा धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आएको संस्थाले वित्तीय कारोबार अन्तर्गत वचत तथा ऋणको कारोबार समेत गर्दै आएको छ ।

संस्थामा ४ करोड ५० लाख शेयर पुँजि, ३२ करोड बचत, २७ करोड ऋण लगानी गरी संस्थाको कुल सम्पत्ती ३८ करोड रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । संस्थाको १० वर्षे रणनीतिक योजना अनुसार २०८० सालको असारसम्ममा ५ हजार भन्दाबढी शेयर सदस्य, १० करोड शेयर पुँजि, ८० करोड वचत, ७५ करोड कर्जा लगानी गरी कुल सम्पत्ती १ अर्ब पु¥याउन लक्ष्य रहेको प्रवन्धक सापकोटाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *