वातावरण संरक्षणका लागि सहकारीमार्फत युवा र महिलाको भूमिका प्रभावकारी बनाऔ : पूर्व मन्त्री बडाल

आदर्श अनलाइन बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडका सल्लाहकार तथा पूर्वमन्त्री केशव प्रसाद बडालले विश्वमा प्रतिकुल बन्दै गैरहेको वातावरण क्षेत्रलाई अनुकुल बनाउनका लागि युवा र महिलाको भूमिका बढाउनु पर्नेमा जोड दिनुभएको छ ।

नेडाक र राष्ट्रिय सहकारी बैंकद्वारा बिहीवार आयोजित जलवायु परिवर्तन तथा सहकारीमा महिला र युवा विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष समेत रहनु भएका बडालले यस्तो बताउनु भएको हो ।

विग्रदै गएको वातावरणलाई प्रतिकूल बनाउनका लागि सहकारी क्षेत्रले युवा र महिलालाई शसक्त रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिदै उहाँले सहकारीमार्फत जलवायु परिवर्तनका कारण हुन सक्ने जोखिमका बारेमा सचेतना फैलाउनु पर्ने बताउनुभयो ।

संभावना भएका क्षेत्रमा बहुउपयोगी जडिबुटी र फलफूल खेती विस्तार गरी वातावरण संरक्षण र आयआर्जनमा समेत योगदान गर्न सहकारी क्षेत्रलाई उहाँले सुझाव दिनुभयो ।

सहकारीमार्फत रोजगारी सिर्जना गरी कच्चा श्रम निर्यात गर्ने अवस्थाको अन्त्य गरी वस्तु निर्यात गर्ने गरी काम गर्न सहकारी र राज्यबीच सहकार्यका लागि उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेडाकका अध्यक्ष सिन्दप नायकले जलवायु परिवर्तनमा सहकारीको पहल विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममाथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले टिप्पणी गर्नु भएको थियो ।

यस्तै सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारीमा महिला सहभागिता ः विद्यमान अवस्था र सुधारका उपायहरु विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रम बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षता, सञ्चालक तथा लैगिक समानता उपसमिति संयोजक पार्वती थापा मगरको स्वागत र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

गोष्ठीमा सहकारी अभियान, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका विभिन्न जिम्मेवारीमा रहेका सहकारीसंग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो । गोष्ठीका सहभागीहरुले ९ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिवद्धताहरु :
१. सम्पूर्ण सहकारी संघ, संस्था तथा बैंकले महिला र युवालाई वित्तीय साक्षरता एवं विद्युतीय साक्षरता (Financial Literacy and Digital Literacy)लगायतका विषयमा थप तालिम शिक्षा कार्यक्रम सञ्चालन गर्ने,

२. आर्थिक रुपमा महिलालाई आत्मनिर्भर बनाउने गरी कृषि उत्पादन र बजारीकरणमा महिला तथा युवाका लागि आतिरिक्त बस्तु सेवा निर्माण गर्ने,

३. राष्ट्रिय सहकारी बैंकको समन्वयमा महिला तथा युवा सहभागिता सम्बन्धी समसामयिक विषयमा राष्ट्रिय स्तरको कार्यक्रम नियमित रुपमा सञ्चालनलाई निरन्तरता दिने,

४. युवा तथा महिलामुखी बस्तु सेवा तथा नीति कार्यक्रम निर्माणका लागि हरेक सहकारीमा युवा तथा महिलालाई नेतृत्वमा स्थान सुनिश्चित गर्न सहकारी अभियानले पहल गर्ने र सरकार समक्ष कानुनी व्यवस्थाको लागि अनुरोध गर्ने,

५. जलवायु परिवर्तन तथा ओजन तहको क्षय न्यूनिकरणको लागि सबै संघ, संस्था तथा बैंकले निशुल्क वा सहुलियत दरमा कम्तिमा एक एक वटा बस्तु तथा सेवा उपलब्ध गराउने

६. सबै सहकारी संघ संस्थाले सहकारी शिक्षाका साथमा दीगो विकास लक्ष्यहरु मध्येका लैङ्गिङ्गक समानता एवं जलवायु परिवर्तन तथा यसका असर लगायतका विषयहरु समावेश गरी सदस्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने,

७. मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइ जस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरेफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन रोक्न साथै परावर्तित विकिरणहरु वायुमण्डलमै रोकिने क्रमलाई भङ्ग गराउनका लागि वन जङ्गल विस्तार, कोइला तथा खनिजजन्य इन्धनको प्रयोगमा कमी गर्ने जस्ता कार्यमा सबै सहकारी संघ संस्था तथा बैंक जागरुक हुने,

८. युवा तथा महिलामा प्रविधि सञ्चालन सीपको विकास गर्ने र प्रविधि मैत्री व्यवहारमा बानी बसाल्ने कार्यका लागि सहकारी संघ, संस्था तथा बैंकले आ–आफ्नाे नीति तथा कार्यक्रम तयार गर्ने

९. जलवायु परिवर्तनमा सहकारीको भूमिका र सहकारीमा युवा तथा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धमा स्पष्ट नीति तथा कार्यक्रम तय गर्न अभियानको तर्फ बाट सरकारलाई अनुरोध गर्ने साथै आवश्यक कार्यका लागि सहकारी महासंघ र सहकारी बैंक तथा सम्पूर्ण संघ र तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्ने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *