बरेङमा आदर्श सञ्चारको १४ औँ एकाईगत साधारण सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औँ एकाईगत साधारण सभा सोमबार बरेङमा सम्पन्न भएको छ ।

साधारणसभालाई सम्बोधन गर्दै बरेङ गाउँपालिकाकी उपाध्यक्ष डिलकुमारी पुनले सहकारीलाई अझ सेवा र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय अधिक संख्यामा सहकारी खुल्ने र ती नाफा कमाउनमा केन्द्रित भएको भन्दै उहाँले संस्थामा संकलित स्रोत र पूँजिको परिचालन गरेर गरिब बिपन्न नागरिकको जीवनस्तर उकास्न तर्फ लाग्नु पर्नेमा उपाध्यक्ष पुनले जोड दिनुभयो ।

साधारणसभामा संस्थाका सचिव ललिता थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पूर्णबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आदर्शका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना तथा सदस्यको भूमिका र वार्षिक योजनाको बारेमा प्रस्ट पार्नुभएको थियो ।

उहाँले अब आदर्शले आर्थिक कारोबारसँगै स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई जोडेर अभियान र कार्यक्रम केन्द्रित गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापा ‘अविरल’, बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट कर्जा कारोबार गर्ने जयराम शर्मालाई पुरस्कृत समेत गरिएको थियो ।

आदर्शले यसवर्षदेखि २ हजार भन्दा बढी शेयर सदस्य पुगेकाले बिभिन्न स्थानमा एकाईगत साधारणसभा गरेको छ । जस अनुसार, यसअघि काठेखोला र गलकोटमा सम्पन्न भइसकेको छ । जैमिनीमा सोमवार गर्ने भनिएको एकाईगत साधारणसभा कोरोना संक्रमणका कारण कुश्मिशेरा बजार बन्द गरिए पछि स्थगित गरिएको छ । अब बागलुङ नगरपालिकाका बिभिन्न वार्डको छुट्टा–छुट्टै २४, २५, २६ गते र २७ गते प्रतिनिधिमूलक साधारणसभा बागलुङ बजारमा गरिने संस्थाका प्रबन्धक दिपक सापकोटाले जानकारी दिनुभयो ।

हाल आदर्श सञ्चार सहकारी संस्थामा २ हजार २ सय २८ जना शेयर सदस्य छन् । ४ करोड ५१ लाख शेयर पूँजि, ३२ करोड निक्षेप र २८ करोड कर्जा लगानी छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’को अध्यक्षता,आदर्श सञ्चार बरेङ गाउँपालिका समन्वय उप–समितिका संयोजक जयराम शर्माको स्वागत मन्तव्य र प्रबन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *