सहकारी बैंकको १७ औं वार्षिक साधारणसभा शुरु, कृषि र सहकारी मार्फत समृद्धिमा जुटौ : मुख्यमन्त्री राई

आदर्श अनलाइन, बागलुङ
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको समृद्धिका लागि सहकारीमार्फत कृषिमा आमुल परिवर्तन आवश्यक रहेको बताउनु भएको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तरगत मंगलवार भर्चुअल माध्यमबाट आयोजित प्रदेश नं. १ को एकाई सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

कृषि क्षेत्रलाई आर्थिक विकासको आधार बनाउनका लागि सहकारी क्षेत्रलाई परिचालन आवश्यक रहेको भन्दै उहाँले सहकारी क्षेत्रले कृषि क्षेत्रको विकासमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । प्रदेश नं. १ को विकासका लागि सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेका छौ, मुख्यमन्त्री राईले भन्नुभयो–सहकारी बैंकसंग सहकार्य गरेर काम गर्न प्रदेश सरकार प्रतिवद्ध छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष तथा बैंकका सल्लाहकार दिपक प्रकाश बाँस्कोटाले नेपालको सहकारी अभियानको एकमात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई थप व्यवस्थित गराउदै समग्र सहकारी क्षेत्रको साख बढाउनु पर्नेमा जोड दिनुभएको छ ।

समानान्तर सहकारी बैंकको चर्चा बजारमा चलेको आफुले सुनेको भन्दै उहाँले समानान्तर सहकारी बैंकको औचित्य नहरेको बताउनु भएको छ । सहकारी क्षेत्रलाई मुलुक रुपान्तरणको महत्वपूर्ण अंगका रुपमा अगाडि बढाउनका लागि राष्ट्रिय सहकारी बैंकलाई नै थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । सहकारी क्षेत्र विभाजित भएर होइन, एकीकृत भएर यो क्षेत्रलाई आम समुदायको भरोसाको केन्द्र बनाउनु पर्छ, बाँस्कोटाको भनाइ थियो ।

सहकारी बैंकलाई मुख्य बैंक बनाएर उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा ध्यान दिनु पर्दछ, पूर्वमन्त्री समेत रहनु भएको बाँस्कोटाले भन्नुभयो–कृषि, कृषक र वातावरण जोगाउने गरी सहकारी बैंकका कामलाई केन्द्रीत गर्नु पर्दछ ।

नेपालको सहकारी अभियानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नु भएका बास्कोटाले सहकारी बैंकलाई शाखा होइन, सदस्यमार्फत देशव्यापी रुपमा अगाडि बढाउने गरी वर्तमान सहकारी ऐनलाई संशोधन गर्नु पर्ने सुझाव दिनुभएको छ ।

सहकारी बैंकका संस्थापक समेत रहनु भएका बाँस्कोटाले सहकारीको मुल मर्म र भावनालाई कमजोर नबनाउने गरी काम गर्न सकेमा सहकारीलाई ठिक ढंगले अगाडि बढाउन सकिने बताउनुभयो ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक लक्ष्मी प्रसाद उप्रेतीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको छ । साधारणसभाले सबै प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रम बैंकका अध्यक्ष उप्रेतीको अध्यक्षता, सञ्चालक तथा प्रदेश न. १ का संयोजक महेन्द्र गिरीको सञ्चालन र सञ्चालक अमृता सुब्बाको स्वागतमा सम्पन्न भएको थियो ।

बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरुको नामावली घोषणा गर्नु भएको थियो ।

हरेक वर्ष वार्षिक साधारणसभामा प्रदान गरिने पुरस्कार तथा सम्मान यस वर्ष कोरोना संक्रमणका कारण भर्चुअल रुपमा कार्यक्रम गर्नु परेको हुनाले घोषणा मात्र गरिएको र सहज वातावरण भएपछि पुरस्कृत तथा सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।

बैंकले विभिन्न विधामा पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अन्तरगत यस वर्ष सहकारी अभियन्ता सम्मान केशव बडाल, पूर्व सञ्चालक विधामा डिल्लीराम तिवारी, सहकारी बैंक विद्वता विधामा डा. नवराज सिंखडा, सहकारी बैंक पत्रकारिता पुरस्कार शर्मिलाल ठकुरीलाई प्रदान गर्ने भएको छ ।

यस्तै बैंकको शाखा मध्येबाट बागलुङ शाखा, कर्मचारीहरु मध्ये प्रवन्धक अधिकृत तहबाट विनोद भट्टराई, सहायक स्तरबाट अर्जुन कार्की, सहयोगी स्तरबाट सोमबहादुर कार्कीलाई पुरस्कृत गरिने भएको छ ।

सहकारी बैंकले देशभरका सहकारीहरु मध्ये वचत तथा ऋण विधिमा दाम्रभिट्टा वचत तथा ऋण सहकारी संस्था मोरङ, बचत तथा ऋण बाहेकका सहकारीहरु मध्येबाट पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कास्की र महिलाद्वारा सञ्चालित सहकारीहरु मध्येबाट महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुरलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश नं. १ बाट बचत तथा ऋण विधामा सौठा बचत तथा ऋण सहकारी र अन्यबाट मेची सहकारी संस्था लिमिटेड झापालाई पुरस्कृत गरिने सो अवसरमा जानकारी दिइएको थियो ।

सहकारी बैंकले पहिलो पटक ७ वटा एकाई अन्तरगत साधारणसभा लागेको बैंकका प्रमुख कार्यकारी अधिृकत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *