पर्यटक तान्न तालमाथि पुल

पाेखरा : कास्कीको दोस्रो ठूलो ताल रुपामाथि पोखरा ३१ को पचभैया र रुपा गाउँपालिकाको वडा नम्बर ६ को भंगरालाई जोड्ने गरी झोलुंगे पुल निर्माण सुरु भएको छ ।

रुपातालमाथि झोलुंगे पुल निर्माण गरी रुपा र लेखनाथलाई जोड्ने स्थानीयहरुको वर्षैदेखिको सपना अवका केही दिनमा पूरा गर्ने गरी रुपातालको सिमलडाँडा साँघुरेघाटमा २ सय ६९ मिटर लामो झोलुंगे पुल निर्माण गरिने भएको हो ।

ताल माथि झोलुंगे पुल निर्माण भएपछि त्यस क्षेत्रका स्थानीयहरुलाई आवतजावतका लागि सहज र छोटो दुरी हुने एवं तालमाथिको झोलुंगेपुल हेर्नकै लागि पर्यटकहरुका पनि आकर्षण बढ्ने विश्वास स्थानीयहरुले लिएका छन् ।

तालभन्दा करिब ६०/६५ मिटर माथि निर्माण गर्न लागिएको झोलुंगे पुलको संघीय सांसद खगराज अधिकारी र रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

पुल शिलान्यास कार्यक्रममा बोल्दै सांसद तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले पुलले जसरी दुई ठाउँको दुरीलाई नजिक गर्छ त्यसरी नै विकास निर्माणका सवालमा पनि जनतालाई नजिक बनाउने विश्वास व्यक्त गरे ।

सोही अवसरमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विकासमा तेरो र मेरो नभनी हातेमालो गरेर अगाडि बढ्न आग्रह गरे । तालमाथि बन्ने झोलुंगे पुललाई पर्यटनसँग जोडेर आयआर्जनको क्षेत्रमा पनि जोड्न सक्नुपर्ने बताए ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट करिब १ करोड ३६ लाख ९६ हजार सात सयको लागतमा निर्माण हुने झोलिङ पुल यसै आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने योजना छ । पुलको लम्बाइ करिब २६९ मिटर लम्बाइ र १ मिटर २५ सेन्टिमिटर चौडाइ रहने छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सावित्री पौडेल, नेपाली कांग्रेस कास्कीका सचिव धु्रवनाथ अधिकारी, नेकपाका जिल्ला सदस्य शंकरनाथ पौडेल, नेकपा वडा नम्बर ३१ का अध्यक्ष गणेशबहादुर थापा, स्थानीय समाजसेवी वासुदेव लामिछाने र निर्माण कम्पनीका प्रतिनिधि लंकशेर राई लगायतले गुणस्तरीय र निर्धारीत समयमा नै पुल निर्माणको काम हुनुपर्नेमा जोड दिएका थिए ।

पोखरा महानगरपालिका वडा नं ३१ का वडाअध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्थानीय देउराली नमुना आमा समूहकी अध्यक्ष सुनीता थापाले गरेकी थिइन् । कार्यक्रम सञ्चालन वडा सचिव रामचन्द्र पौडेलले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *