समृद्धिका लागि सहकारी मुख्य क्षेत्र : मुख्यमन्त्री पौडेल

आदर्श अनलाइन, बागलुङ
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशको आर्थिक समृद्धिका लागि सहकारी क्षेत्र प्रमुख साझेदारका रुपमा रहेको बताउनु भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत बागमती प्रदेश स्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट बिहीवार उद्घाटन पछि यस्तो बताउनु भएको हो ।

समृद्ध नेपाल : सुखी नेपाली बनाउने नेपाल सरकारको अभियानलाई सफल पार्नका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनुपर्छ, मुख्यमन्त्री पौडेलले भन्नुभयो–सिंगो सहकारी क्षेत्रलाई रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धिमा लगाउनका लागि सहकारी बैंकको भूमिका आवश्यक छ । सहकारी बैंकले आफ्ना सदस्य संस्थाहरुलाई लगानी गर्दा कृषि, पशुपालन लगायत उत्पादनका क्षेत्रलाई केन्द्रीत गर्नु पर्नेमा उहाँको सुझाव थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि एवम् बैंकका सल्लाहकार राधा घलेले सरकारले गरिवी निवारण तथा आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । सबै खाले विकास सहकारीको माध्यामबाट नै सम्भव भएको आफुले देखेको बताउदै उहाले सहकारी बैंकले त्यस सम्बन्धमा समेत आफ्नो कार्य योजनाका साथ काम गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक केदार मानन्धरको सञ्चालन र बैंक का संचालक तथा बाग्मती प्रदेशका संयोजक ज्ञान बहादुर तामांगको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका सदस्य मित्रराज दवाडीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । एकाइ सभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ ।

कार्यक्रममा बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरुको नामावली घोषणा गर्नु भएको थियो । हरेक वर्ष वार्षिक साधारणसभामा प्रदान गरिने पुरस्कार तथा सम्मान यस वर्ष कोरोना संक्रमण कारण भर्चुअल रुपमा कार्यक्रम गर्नु परेको हुनाले घोषणा मात्र गरिएको र सहज वातावरण भएपछि पुरस्कृत तथा सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको एकाई सभा मंसिर २९ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते र सुदूरपश्चिम प्रदेशको २८ गते सम्पन्न गर्ने तालिका रहेको छ । एकाईसभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *