तनहुँमा छात्रवास भवन पर्याप्त नहुँदा टुहुरा विद्यार्थी मर्कामा

आदर्श अनलाइन, तनहुँ
व्यास नगरपालिका-१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको शहीद नेपाली छात्रवासमा पर्याप्त मात्रामा भवन नहुँदा टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका छन् ।

उक्त क्याम्पस शहरिया र धनाढ्यका छोराछोरीको तुलनामा अधिकांश ग्रामीण क्षेत्रका, मजदुर, किसान र रिक्सा चालकलगायतका छोराछोरीको पहिलो रोजाइँ बन्दै गए पनि भवन अभावमा बाबु-आमा गुमाएका टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका हुन् । उक्त क्याम्पस परिसरमा शहीद चन्द्र नेपालीको सम्झनामा छात्रवास निर्माण गरिए पनि अर्थाभावका कारण थप भवन निर्माण गर्न नसकिएकाले लक्षित वर्गका विद्यार्थी शिक्षाबाट बञ्चित हुनुपरेको क्याम्पस प्रशासनले जनाएको छ ।

झण्डै ४०० भन्दा बढी टुहुरा विद्यार्थी छात्रवासमा बसेर पढ्न पाउने अधिकारबाट बञ्चित हुनुपरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो । करिब रु ३५ लाखको लागतमा निर्माण गरिएको छात्रवासमा अहिले ३० विद्यार्थीले बसेर शिक्षा लिँदै आएका छन् । वर्षेनी एकतला थप गर्दै लैजान सकिए वर्षेनी ३० विद्यार्थीलाई छात्रवासमा राख्न सकिने अवस्था थियो । उहाँले भन्नुभयो, “आर्थिक स्रोत जुटाएर भवन निर्माण गर्न नसक्दा दयनीय अवस्थाका विद्यार्थी शिक्षा लिनबाट बञ्चित हुनुपरेको छ ।”

टुहुरा, आर्थिक क्षेत्रबाट पिछडिएका, दलित, जनजाति र दुर्गम बस्तीका विद्यार्थीलाई सहजरूपमा शिक्षा हासिल गर्नका लागि भौतिक संरचना निर्माण गर्नुपर्ने टड्कारो समस्याको रुपमा देखापरेको छ । करिब दुई रोपनी जग्गा निर्मल माध्यमिक विद्यालयले उपलब्ध गराएपछि व्यास नगरपालिकाको रु सात लाख, क्याम्पसको रु पाँच लाख, तत्कालीन जिल्ला विकास समिति र नेपाल सरकारको सहयोगमा गरी छात्रवास निर्माण गरिएको थियो ।

क्याम्पस प्रशासनले बाबुआमा नभएका, दलित, जनजाति, तनहुँ, गोरखा र लमजुङ जिल्लाका दुर्गम क्षेत्रका विद्यार्थीलाई प्राथामिकता दिएर छात्रवासको सुविधा उपलब्ध गराउँदै आएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो । छात्रवासमा रहेर अध्ययन गर्ने विद्यार्थीलाई मासिक रु एक हजारमा खानाको व्यवस्था गरे पनि कुनै-कुनै महिना नपुगे छात्रवासमा रहेकाले दामासाहीले रकम उठाएर हिसाब मिलान गर्ने गरेको बताइएको छ । छात्रवासमा रहेका टुहुरा विद्यार्थीका लागि लत्ताकपडा भने विभिन्न सङ्घसंस्थासँग सहयोग मागेर प्रदान गर्ने गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

छात्रवासमा पानीको अभाव

शहीद नेपाली छात्रवासमा पानीको चरम समस्या रहेपछि जिल्लाको देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा पानीको व्यवस्था गर्न शुक्रबारदेखि इनार खन्ने काम शुरु गरिएको छ । क्याम्पस नजिकै रहेको बुल्दीखोला किनारमा इनार निर्माण गरी पानी तानेर छात्रवाससम्म ल्याउनका लागि उक्त पालिकाले पहल गरेको हो । छात्रवासमा खानेपानीको व्यवस्था भए पनि नुहाउन र कपडा धुन समस्या भएकाले देवघाट गाउँपालिकासँग कुरा राख्दा रु दुई लाख आर्थिक सहयोग गरेको उक्त क्याम्पस प्रशासनले जनाएको छ । गाउँपालिकाको बजेटले नपुगे क्याम्पसको आन्तरिक स्रोतबाट खर्च गरेर भए पनि पानीको व्यवस्था गरिने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *