उत्पादक सहकारीहरुलाई राज्यले सहयोग गर्नुपर्छ : महासंघ सञ्चालक जि.सी.

साधना पन्त, बागलुङ

राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको छ ।

बागलुङ दूग्ध उत्पादक सहकारी संघको १९ औं वार्षिक साधारण सभाको मंगलबार बागलुङमा उद्घाटनपछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । बागलुङ दुग्ध उत्पादक सहकारी संघले १४ वटा दुग्ध उत्पादक सहकारीहरुमार्फत २ हजार जना किसानलाई प्रत्यक्ष उत्पादनमा लाएर आयआर्जन गराउन सफल भएको भन्दै उहाँले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले दिने सेवा सुविधामा ध्यान दिनु पर्ने उहाँको भनाइ थियो ।

उत्पादनका क्षेत्रमा लागेका सहकारीहरुलाई विशेष प्याकेज बनाएर उत्पादनमा थप क्रियाशिल बनाउन सके राज्यको भूमिका बढ्ने बताउनुभयो । राज्यले दिने सेवा सुविधाहरुमा छुट दिएर उत्पादनका क्षेत्रमा लागेका सहकारीलाई थप उत्साहित बनाउन सकेमा उत्पादन बढ्ने तथा रोजगारी वृद्धि हुने उहाँको भनाइ थियो ।

दूग्ध सहकारी बागलुङको एक नमुना सहकारी भएको बताउनु भयो । जिसीले युवाहरुलाई रोजगार सृजना गरेर देशमै केही गर्नका लागी दूग्ध सहकारीले सहयोग गरेको भन्दै आगामी दिनमा महिलाहरुलाई पनि अगाडी बढाउनका लागि अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा संस्थाबाट सेवा निवृत हुन लाग्नु भएका प्रवन्धक धरणीधर सापकोटालाई सम्मान गरी बिदाई गरिएको थियो । उहाँलाई संचयकोष र उपदानबाट ७ लाख ४५ हजार रुपैया प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जि.सी ( अन्जु ) ले हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका सचिव रामबहादुर हमालले प्रगती प्रतिवेदन, कोषाध्यक्ष डिलाराम कंडेलले आर्थिक प्रतिवेदन, लेखा समिति सदस्य गुणाखर कंडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागीको जिज्ञासालाई बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले सहजीकरण गर्नु भएको थियो ।

उहाँले दुग्ध सहकारीले दुग्ध सहकारीमा आवद्ध सबै किसानको मर्मअनुरुप काम गरेको र उनीहरुलाई आर्थिक रुपमा सवल बनाउने तर्फ अगाडी बढेको बताउनु भयो । कार्यक्रममा सहभागीको तर्फबाट शुभकामना मन्तव्य गोविन्द शर्माले राख्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष ओमनाथ सापकोटाको स्वागत र सचिव रामबहादुर हमालको संचालनमा सम्पन्न भएको थियो ।

संस्थाले आर्थिक वर्ष ०७६।०७७ मा ४ करोड ७ लाख ३५ हजार पांच सय २७ को कारोबार गरेको थियो । संस्थाको शेयर पूँजी १ करोड ८९ लाख ७ हजार र स्थिर सम्पत्ति १ कारोड ४२ लाख ५४ हजार ११ रुपैया रहेको संस्थाका कोषाध्यक्ष डिलाराम कंडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *