बागलुङमा स्थापित ‘भूपी पुरस्कार’ समालोचक शर्मालाई प्रदान

आदर्श अनलाइन,बागलुङ

धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपी पुरस्कार’ लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गरेको छ ।

‘सिर्जनाका परिधिमा भूपी शेरचन’ समालोचनात्मक कृतिका लागि शर्मालाई पुरस्कृत गरिएको हो । ८६ औँ भूपि जयन्तीका अवसरमा बागलुङमा आयोजित एक विशेष समारोहका बीच उच्च अदालतका मुख्य न्यायधीश मोहनबहादुर कार्कीले २५ हजार नगद राशी र सम्मानपत्र सहित शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो। पुरस्कार वितरण पछि बोल्दै मुख्य न्यायधीश कार्कीले भूपी नेपाली समाजमा सदा स्मरणीय व्यक्तित्व भएको बताउनुभयो । जिवन्त सिर्जना गर्ने भूपीको सम्मानमा धौलागिरी साहित्य प्रतिष्ठानले गरेको अक्ष्य कोष, पुरस्कार लगायतको कर्म पनि प्रशंसनीय कार्य भएको उहाँकोे भनाई थियो ।


कार्यक्रम जिल्ला न्यायधीश बासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, पुरस्कृत लेखक सुकुम शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पुरस्कृत कृतिका बारेमा धौलागिरी क्याम्पसमा सहप्राध्यापक हरिप्रसाद गौतमले समिक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

यसअघि प्रतिष्ठानले पुरस्कारका लागि कवि भूपी शेरचनको व्यक्तित्व र कृतित्व माथि लेखिएका समालोचनात्मक कृति आह्वान गरेको थियो। प्रतिष्ठानको मूल्याङ्कन समितिले शर्माको कृतिलाई उत्कृष्ट छनोट गरेको थियो ।

स्याङ्जाको पुतली बजार नगरपालिकामा जन्मिएका शर्माका ‘‘नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण’, ‘कवि इच्छुकः कविता सन्दर्भमा’, ‘पारिजातका कविताको अध्ययन’लगायत समालोचनात्मक कृति प्रकाशित छन्। शर्माका कथा, कविता र गीत सङ्ग्रह पनि प्रकाशित छन्।

प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई गरी आलोपालो वर्षेनी पुरस्कार प्रदान गर्दै आएको छ। गत वर्ष संस्थागततर्फको पुरस्कार थकाली समाज बुटवलले पाएको थियो। समाज भूपिको स्मृतिमा प्रवेशद्वार, सालिक, पुस्तकालय, अक्षयकोष निर्माणलगायत भाषा, साहित्यको प्रर्वद्धनमा सक्रिय छ।

यस्तै साहित्यकार लकाश पौडेललाई ‘भूपि सम्मान’ प्रदान गरिने निर्णय गरिए पनि पौडेल अस्वश्थताका कारण कार्यक्रममा सहभागी नभएकाले पछि अन्य कार्यक्रमका प्रदान गरिने प्रतिष्ठानका सचिव राम अविरलले बताउनुभयो । २०७३ सालमा स्थापित पुरस्कार कोषमा हालसम्म रु।७ लाखभन्दा बढी जम्मा भएको छ। जनस्तरबाट सहयोग जुटाएर पुरस्कार कोष खडा गरिएको हो। १९९० सालमा मुस्ताङको टुकुचेमा जन्मिएका भूपि नेपाली साहित्यका प्रसिद्ध कवि हुन्।

कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, प्रवन्ध समितिका सदस्य पद्मनाथ शर्माको स्वागत मन्तव्य र सदस्य सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *