तनहुँको घरेलु तथा साना उद्योग गण्डकी प्रदेशमै दोस्रो

आदर्श अनलाइन, तनहुँ
घरेलु तथा साना उद्योग कार्यालय तनहुँ गण्डकी प्रदेशै दोस्रो बन्न सफल भएको छ । कार्य कुशलता र राजश्व संकलनमा कास्कीपछिको तनहुँ जिल्ला दोस्रो स्थानमा रहेको सो कार्यालयले जनाएको छ । पछिल्लो समय फर्म दर्ता गर्नेको संख्या दैनिक बढ्दै गएका छन् । दैनिक भीड बढेसँगै पालो पाउन सकस हुने गरेको सेवाग्राहीहरु बताउँछन् ।

१ दिनमा सकिने काम भीडका कारण तीन दिनसम्म धाउनु परेको व्यास नगरपालिका–१ का कविता नेपालीले बताएका छन् । चालू आर्थिक बर्षको साउनदेखि यता उद्योग र वाणिज्य गरी १ हजार ४ सय १५ उद्योग दर्ता भएका छन् । जसमा उद्योगतर्फ ९ सय १५ र वाणिज्यतर्फ ५ सय उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । उद्योग दर्ता गर्ने बढेसँगै साउनदेखि उद्योग र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट ४० लाख राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष ०७५/७६ मा १ हजार १ सय ३४ उद्योग दर्ता हुँदा ८५ लाख १९ हजार ७ सय ७५, आव ०७६/७७ मा १ हजार २७६ उद्योग दर्ता हुँदा ५० लाख ४६ हजार ३ सय र आव ०७७/७८ मा ९ सय १५ उद्योग दर्ता हुँदा २३ लाख ४० हजार ६ सय ७५ राजश्व संकलन भएको उद्योग प्रशासन शाखाप्रमुख मेनका रिमालले जानकारी दिएका छन् । महिलाहरुको नाउँमा दर्ता गर्दा राजश्वमा छुटको व्यवस्था रहेपछि महिलाको नाउँमा उद्योग दर्ता गर्नेहरुको संख्या बढी रहेको उनले बताए ।

पुरुषका नाउँमा दर्ता भएका उद्योगहरु पनि पछिल्लो समय महिलाको नाउँमा नामसारी गर्न थालेका छन् । उनले भने, ‘राज्यबाट प्रदान गरिने अनुदान र बैकबाट कर्जा लिने व्यवस्था भएपछि महिलाको नाउँमा उद्योग दर्ता गर्ने बढेका हुन् ।’ उनका अनुसार ७० प्रतिशतभन्दा बढी महिलाको नाउँमा उद्योग दर्ता भएका छन् ।

त्यसैगरी वाणिज्यतर्फ आव ०७५/७६ मा ७३५ उद्योग दर्ता हुँदा ७० लाख ७३ हजार ७ सय ८०, आव ०७६/७७ मा १ हजार ८ सय १४ दर्ता हुँदा ५४ लाख ९ हजार २ सय ७६ र आव ०७७/७८ मा ६ सय २७ दर्ता हुँदा १६ लाख ५९ हजार ३ सय २५ राजश्व संकलन भएको वाणिज्य प्रशासन शाखाप्रमुख रबि अधिकारीले बताए ।

गत आवमा १ करोड ५ लाख राजश्व संकलन भएको थियो । गत वर्ष कोरोना कारण तीन महिना बस नचलेपछि करीब नौ महिना मात्रै कार्यालय खुलेका कारण राजश्वमा सोचेअनुरुप संकलन गर्न नसकिएको कार्यालयप्रमुख नारायणप्रसाद ढकालले जानकारी दिएका छन् ।

राज्यको संयन्त्रमा आएर कर तिर्ने, बैंकिङ कारोबार गर्न सहज हुने र पछिल्लो समय आमनागरिकमा चेतना वृद्धि हुँदै गएका कारण दर्ता प्रक्रियामा लाग्ने गरेको उनले बताए । कार्यालयका अनुसार दैनिक भीडलाई न्यूनीकरण गर्न र सेवाग्राही २/३ दिन धाउनुपर्ने अवस्था आएकाले घरबाटै टोकन लिने व्यवस्था मिलाइएको छ ।

आफूले दर्ता गर्न चाहेको उद्योग तथा फर्म दर्ताका लागि आवश्यक कागजात कार्यालयको इमेल वा फेसबुक पेजमा फोटो खिची मेसेज गर्ने व्यवस्था मिलाइएको कार्यालयप्रमुख ढकालले जानकारी दिएका छन् । अझै सोचेअनुरुप व्यवसायी दर्ता हुन सकेको छैन । उनले भने, ‘ठाउँठाउँमा गएर दर्ताका बारेमा जानकारी गराउन सके केही वृद्धि गर्न सकिने थियो, कार्यालयमा कर्मचारीको जनशक्ति कमी छ ।’ 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *