आदर्श अनलाइन, पोखरा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको सोमबार सम्पन्न स्थायी कमिटी बैठकले गण्डकी प्रदेशका इन्चार्ज र सहइन्चार्जलाई हटाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार सम्पन्न स्थायी कमिटी बैठकले गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङ र सहइन्चार्ज खगराज अधिकारीलाई जिम्मेवारीबाट हटाएको हो । साथै स्थायी कमिटी बैठकले देवेन्द्र पौडेललाई इन्चार्ज र तुलबहादुर गुरुङलाई सहइन्चार्ज तोकेको छ ।
त्यस्तै लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेललाई समेत जिम्मेवारीबाट हटाइएको छ । पोखरेललाई पार्टीको इन्चार्जबाट हटाएर युवराज ज्ञवालीलाई इन्चार्ज तोकिएको हो । गुरुङ र पोखरेल सम्बन्धित प्रदेशका मुख्यमन्त्री समेत हुन् ।
स्थायी कमिटी बैठकले पार्टी संगठनको एकीकरणको बाँकी काम पुरा गर्न सुझावदिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गृहकार्य टोली समेत गठन गरेको छ । टोलीमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल,जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भिम रावल, मातृका यादव,लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीको बारेमा तथा पार्टी संगठनको एकीकरणको बाँकी रहेको कामहरु पुरा गर्ने सम्बन्धमा ७ दिन भित्र सुझाव दिई कार्यान्वयनको प्रक्रियामा लगिने उहाँले बताउनुभयो। त्यसैगरी बैठकले सरकारको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्ध गरिएको पहिलो चरणको संघर्षका कार्यक्रम उत्साहपूर्वक सफल भएको समीक्षा गर्दै पौष १८गते घोषणा गरेको दोस्रो चरणको संघर्षको कार्यक्रम सफल पार्न पार्टी पंक्तिलाई पूर्ण रुपमा परिचालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले असंवैधानिक कदमका विरुद्ध अन्य राजनीतिक पार्टीहरुसँग पनि वार्ता गरी संयुक्त संघर्ष गर्ने पहललाई जारी राख्ने निर्णय गरेको श्रेष्ठले बताउनुभयो । पार्टीको केन्द्रीय संघर्षको अतिरिक्त प्रदेश, जिल्ला, पालिकास्तर तथा वडास्तरसम्म संघर्ष समिति गठन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको केन्द्रीय संघर्ष समितिको सचिवालय र कार्यालय गठन गरिएको र सह-संयोजकको जिम्मेवारी स्थायी कमिटी सदस्यहरु योगेशभट्टराई, पम्फा भुसाल र गणेश शाहलाई दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्वको संघर्ष सफल पार्न र पार्टी एवम् कम्युनिष्ट आन्दोलन विरोधीलाई परास्त पार्न दृढतापूर्वक अघि बढ्न आव्हान गर्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।