ठेकेदारले ज्याला नदिएपछि मजदुर आन्दोलित

आदर्श अनलाइन, म्याग्दी
मजदुर आन्दोलनका कारण म्याग्दीको राहुघाट जलविद्युत आयोजना निर्माण कार्य प्रभावित भएको छ । ४० मेगावाट क्षमताको राहुघाटको सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सका मजदुरहरु ज्याला नपाएपछि आन्दोलनमा उत्रिदा बाँध, सुरुङ, विद्युतगृह र सर्च साफ्ट निर्माण कार्य रोकिएको हो ।

आयोजनाका मजदुर तेजिन्द्र केसीले पाँच महिनादेखि रोकिएको तलब पाउनुपर्ने, सरकारले तोकेको न्युनतम ज्याला पारदर्शी हिसाबले बितरण गर्नुपर्ने, नियुक्तिपत्र दिनुपर्ने र सुरक्षाका सामग्रीको व्यवस्था हुनुपर्ने लगायतका माग राखेर आन्दोलन सुरु गरेको जानकारी दिनुभयो ।

“ठेकेदारले एक सय जना नेपाली र चार सय जना भारतीय मजदुरलाई पाँच महिनादेखि तलब दिएको छैन,” उहाँले भन्नुभयो “तलब लगायत अन्य सेवा सुविधाको विषयमा ठेकेदार र आयोजनाले बेवास्ता गरेकाले बुधबार देखि निर्माण रोकेर आन्दोलनमा उत्रिएका हौ ।”

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको राहुघाट जलबिद्युत आयोजना निर्माण स्थल म्याग्दीको रघुगंगा गाउँपालिका हो । रघगंगा हाइड्रोपावरका प्रशासकीय अधिकृत मदन गिरीले निर्माण कार्य सूचारु गराउन मजदुरका प्रतिनिधि र ठकेदारलाई बिहीबार वार्तामा बोलाएको बताउनुभयो ।

ठेकेदारले नेपाल बिद्युत प्राधिकरणले भुक्तानी नगरेका कारण कर्मचारी र मजदुरलाई ज्याला दिन नसकेको दाबी गरेको छ । तर प्रशासकीय अधिकृत गिरीले ठेकेदारलाई आयोजनाको तर्फबाट भुक्तानी नरोकिएको बताउनुभयो ।

२०७४ मंसिर ५ गते रु. छ अर्ब पचास करोडमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदारले हालसम्म करिब ३० प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । आयोजनाको ठेक्का अवधी ४५ महिना हो । रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा बिद्युतगृह निर्माण गरिरहेको ठेकेदारले दग्नाम र झिँको सिमानामा पर्ने बाँध सम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । बुग्ल स्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रबिधिको मोटर चल्ने पुल निर्माण गरेको छ ।

६ किलोमिटर २०० मिटर लामो सुरुङ निर्माण हुने यस आयोजनाको एक किलोमिटर पेनस्टक पाइप जडान गरेर २९२ मि. उचाईबाट पानी खसाली बिद्युत उत्पादन गर्ने लक्ष्य छ । अधेरीखोलामा अडिट २, पिप्लेमा अडिट ३ र तिल्केनी चौरमा अडिट न. ४ खन्ने कार्य सम्पन्न गरि ति अडिटहरुबाट सुरुङ खन्ने कार्य भइ रहेको छ । हालसम्म करिब ६२० मि. सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण भइरहेको छ ।

४८ मि. सर्ज साफ्ट निर्माण कार्य सम्पन्न भइ सकेको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार क्ष्ख्च्ऋी सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट निर्माण अघि बढाइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *