बागलुङ नगरका पाँच विद्यालयमा नर्सिङ सेवा


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नर्सिङ सेवा शुरु गरिएको छ । विद्यालयमा स्वास्थ्य परीक्षण, सचेतना प्रदान गर्ने उद्देश्यले बागलुङ नगरपालिकाका पाँच विद्यालयमा नमूना परिक्षणका लागि नर्सिङ कार्यक्रम शुरु गरिएको हो । गत वर्ष सम्झौता भएको यस कार्यक्रम कोरोनाका कारण विद्यालय नखुल्दा शुरु हुन सकेको थिएन । स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखासँगको समन्वयमा बागलुङ नगरपालिकाले पाँच विद्यालयमा एक महिना देखि नर्सिङ सेवा प्रदान गर्न थालेको छ ।

विद्यालयमा आउने स्वास्थ्य समस्या, सचेतना, स्वास्थ्य शिक्षा र वातवरणीय शिक्षाका लागि विद्यालयमा नर्सिङ कार्यक्रम सुरु भएर सेवा प्रदान गर्न थालएको छ । विद्यालयमा अध्ययनरत किशोरीका लागि सेनेटरी प्याडको प्रयोग लगायतको विषयमा समेत शिक्षा प्रदान गरिनेछ । पाँचवटै विद्यालयमा एक÷एक जना स्टाफ नर्स नियुक्ति भएर विद्यालयमा हाजिर भइसकेको नगर स्वास्थ्यशाखा संयोजन जनस्वास्थ्य अधिकृत राम प्रसाद खनालले जानकारी दिनुभयो ।

उहाँले विद्यालयस्तरबाटै स्वास्थ्य सचेतता प्रदान गर्दा विद्यार्थीको परिवार र विद्यालय क्षेत्रको समाजलाई समेत स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । गण्डकी प्रदेशमानै नमूनाका रुपमा बागलुङ नगरपालिकाका पाँच विद्यालयबाट विद्यालय नर्सिङ कार्यक्रम शुरु भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकारज पौडेलले जानकारी दिनुभयो । “विद्यालयमा नर्सले स्वास्थ्य शिक्षा र प्राथमिक उपचार गर्नेछन्” पौडेलले भन्नुभयो “विद्यार्थीलाई स्वास्थ्य जागरुकता, वातावरण तथा सरसफाई र सामान्य उपचारको व्यवस्था गर्दा निकै सहज हुँन थालेको छ ।”

बागलुङ नगरपालिका भित्रका विद्यामन्दिर माध्यामिक विद्यालय, रुद्रेपिपल माध्यामिक विद्यालय, गणेश माध्यामिक विद्यालय, बौडेचौर माध्यामिक विद्यालय र तितौरे माध्यामिक विद्यालयमा नर्सिङ तथा स्वास्थ्य सेवा कार्यक्रम शुरु भएको हो । नर्ससहित आवश्यक औषधी र सामान्य उपकरणको व्यवस्था समेत गरिएको छ । उनिहरुले सरसफाई, प्राथमिक उपचार, कान, आँखा परिक्षण, कुपोषण भए नभएको जानकारी दिने र जनचेतना फैलाउने छन् ।

विद्यालयको भौगोलिक अवस्था, विद्यार्थीको संख्या अधिक तथा स्वास्थ्य सेवा टाढा रहेको जस्ता सूचकका आधारमा पहिलो चरणमा पाँच विद्यालय छनोट गरिएको महाशाखाको अस्पताल नर्सिङ शाखाले जनाएको छ । शाखाका अनुसार छात्रा विद्यार्थीको महिनावारी हुँदाको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचार सम्मको व्यवस्था नर्सले गर्नुहुनेछ । स्टाफ नर्सले विद्यार्थीको तौल तथा उचाईका आधारमा वृद्धि र विकास भए नभएको जानकारी अभिभावकलाई समेत सल्लाहर सुझाव सहीत जानकारी दिनेछन् ।

नेपालमा भर्खरै मात्र विद्यालयस्तरवाटै स्वास्थ्य सचेतना तथा सामान्य औषधी उपचारका लागि शुरु भएको नर्सिङ स्वास्थ्य सेवा प्रदेश नम्बर एक, दुई र तीनले केही स्थानीय तहका विद्यालयमा नमूनाका रुपमा लागु गरिसकेका छन् । स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशको बागलुङ नगरपालिकामा उक्त कार्यक्रम शुरु गरिएका हो ।

नर्सिङ स्वास्थ्य सेवाले स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेका विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । उक्त कार्यक्रम मार्फत स्वस्थ रहनका लागि आवश्यक खानपान, व्यायाम, औषधी उपचार सेवा लगायतका विषयमा समेत जानकारी गराइने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *