मोफसलकै पहिलो रत्नश्रेष्ठ पुरस्कार घोषणा

आदर्श अनलाइन, बागलुङ

मोफसलकै पहिलो पुरस्कार रत्नश्रेष्ठ पुरस्कार गुठी बागलुङले प्रत्येक दुई वर्षमा प्रदान गर्ने पुरस्कार घोषणा गरेको छ ।

गुठीको बुधवार बसेको सभाले पुरस्कार छनोट गर्नका लागि गठित समितिको सिफारिस अनुमोदन सहित पुरस्कार घोषणा गरेको हो । यसवर्षको रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार म्याग्दीका पूर्व सांसद समेत रहेका लेखक चन्द्रप्रकाश बानियाको भौज्याहा (निबन्ध संग्रह)लाई प्रदान गरिने भएको छ भने रत्न श्रेष्ठ प्रादेशिक पुरस्कार पूर्वीय दर्शनको पुर्नव्याख्या कृतिका लागि बागलुङका डा.प्रमोद ढकाललाई प्रदान गर्ने निर्णय भएको रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार गुठीका संस्थापक संरक्षक प्रेम छोटाले बताउनुभयो ।

यसैगरी, यसवर्षको धवलागिरि प्रतिभा पुरस्कार पर्वत फलेबास घर भई हाल अमेरिकामा रहनुभएको महेश्वर पन्तको फुर्लुङ उपन्यास, जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार जीवन दर्शनको रुपरेखा कृतिका लागि प्राध्यापक डा.रमेशचन्द्र अधिकारी र गुरु गणेश विष्णु स्मृति पुरस्कार पिपिरी उपन्यास लेखक बागलुङ बलेवाका मिनराज बसन्तलाई प्रदान गर्ने सभाले निर्णय गरेको संस्थापक संरक्षक छोटाले जानकारी दिनुभयो । पुरस्कारका लागि देशभरबाट ३५ वटा बिभिन्न बिधाका कृति प्राप्त भएकोमा त्यस मध्येबाट उत्कृष्ट कृति र लेखक छनोट गरिएको अन्वेषक छोटाले बताउनुभयो ।

रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कारको राशी नगद ५० हजार छ भने अन्य पुरस्कारको राशी नगद २५/२५ हजार छ । रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङका साहित्यकार तथा अन्वेषक प्रेम छोटाले आफ्ना दिवंगत माता रत्नकुमारी श्रेष्ठको स्मृति र सम्मानमा २०३७ सालमा स्थापना गर्नुभएको थियो भने नारी स्रष्टा सन्तु श्रेष्ठले आफ्ना माता चन्द्रकुमारी श्रेष्ठ र बुवा जगतबहादुर श्रेष्ठको स्मृतिमा जगतचन्द्र स्मृति पुरस्कार कोष गुठीकै संरक्षणमा सञ्चालन गर्ने गरी २०५८ सालमा स्थापना गर्नुभएको थियो । यसैगरी, गुरु गणेश विष्णु स्मृति पुरस्कार चन्द्रकुमारी श्रेष्ठ र भरत कुमार श्रेष्ठले गुठीकै संरक्षणबाट सञ्चालित हुने गरी स्थापना गर्नुभएको हो ।

सभाबाट घोषित पुरस्कार आगामी फागुन ७ गते एक विशेष समारोहका बीच प्रदान गरिने रत्न श्रेष्ठ पुरस्कार गुठीका सदस्य सचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो । आफ्ना दिवंगत आमा बुवाको सम्झना र नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानमा लागेका साहित्यकारको सम्मानमा पुरस्कार कोषको व्यवस्था गरिएको सदस्य सचिव प्रधानले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *