पोखरामा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुरु

अदर्श अनलाइन, पोखरा
विश्वकप फुटबल तथा एशियन कप छनोटको बाँकी खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आजदेखि पोखरामा बन्द प्रशिक्षण शुरु गरेको छ ।

राष्ट्रिय टोलीको प्रारम्भिक सूचीमा समावेश ३५ खेलाडीले पोखरा रङ्गशालाभित्रको अन्तर्राष्ट्रिय फुटबल मैदानमा साँझ ३ बजेदेखि दुई घण्टा अभ्यास गरेका हुन् । टोलीलाई राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक बालगोपाल महर्जन तथा सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराउनुभएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य एवं राष्ट्रिय टोली तयारी समितिका संयोजक मधुसुदन उपाध्यायले राष्ट्रिय टोली आगामी माघ २१ गतेसम्म पोखरामा रहेर प्रशिक्षण गर्ने जानकारी दिनुभयो । टोलीलाई नयाँ वातावरणमा ‘रिफ्रेसमेन्ट’ सहितको प्रशिक्षण गराउने एन्फाको योजना छ ।

“काठमाडौैँमा डेढ महिना बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई स्वच्छ वातावरणमा रिफ्रेसमेन्टसहितको ट्रेनिङका लागि पोखरा आएका छौँ । यहाँको प्रशिक्षणले खेलाडीहरुमा हौसला मिल्ने विश्वास छ ।” उहाँले भन्नुभयो । बिहीबार साँझ पोखरा आएको टोलीमा ३५ खेलाडी र नौ जना अफिसियल छन् । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एशियन कपको छनोट चरणका अब तीन खेल खेल्न बाँकी छ । नेपालले चाइनिज ताइपेईसँग अगामी चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग जेठमा खेल्नेछ ।

तीन ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा तीन खेल खेल्नेछ । नेपालले कुवेतसँगको ‘होम म्याच’ भुटानमा खेलेको थियो । छनोट चरणमा नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । नेपाल छनोट चरणमा तीन अङ्कसहित समूहको चौथो स्थानमा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *