अनुकुल मौसममा वर्षा र हिउँ पर्न छोडेपछि मुस्ताङको लेतेमा प्रकृति पुजा

सुन्दरकुमार थकाली, जोमसोम
मुस्ताङको लेते कालोपानीमा स्थानीयले प्रकृति पुजा गरेका छन् । अनुकुल मौसममा वर्षा र हिउँ पर्न छोडेपछि लेत कालोपानीबासीले शनिवार नजिकैको सलनकुना जंगलको पुजाथानमा धार्मिक परम्परा अनुसार वर्षा र हिउँको पुजाआजा गरेका छन् ।

लेते कालोपानीका गाउँ मुखिया रविन्द्र तुलाचनको पहलमा स्थानीयले वर्षा र हिउँको कामना गर्दै पुजाआजा गरेको जनाईएको छ । मौसम अनुसार हिउँदयामको हिउँ मुस्ताङका किसानका लागि बरदान सािवत हुने गर्छ ।

हिउँदयामको हिउँ कृषकले लगाएको अन्नबालीलाई फाईदा पुग्ने भएपनि यसवर्ष अनुकुल मौसममा समेत वर्षा र हिउँ नपर्दा मुस्ताङका किसान चिन्तित बनेका हुन् । हिउँ पर्न ढिला भएकाले जिल्लाका स्याउ,आलु ,उवा,तोरी ,मकै र जौ उत्पादक किसान समस्यामा परेका हुन् ।

वर्षा र हिउँ नपर्दा पुजाआजा गरेपछि हिउँ पर्ने धार्मिक जनबिश्वासका कारण आफुहरुले हिउँ पुजा गर्नु परेको गाउमुखिया रविन्द्र तुलाचनले जानकारी दिए । उनले गाउँमा खेतीपातीका लागि सिचाईको व्यवस्था नभएको र आकासे वर्षा र हिउँको भर पर्नु परेकाले पुस्तौ देखि पुजाआजा गर्ने चलन रहेको बताए ।

मुस्ताङको थासाङ—३ कालोपानी लेतेका करिव १५ जना स्थानीयसहितको टोलीले वर्षा र हिउँको कामना गर्दै पुजाआजा गरेका छन् ।हिउँ पर्ने मौसममा समेत हिउँ नपरेकाले गाउँले मिलेर सेतो भाले बली चढाएर पुजा गरेको स्थानीय रत्नमान शेरचनले जानकारी दिए ।

मुस्ताङका अधिकांश स्थानीय किसान कृषिमा आत्मनिर्भर रहेको र हिउँ नपर्दा किसानलाई ठुलो क्षति व्यवहोर्नु पर्ने अवस्था आईपरेकाले आफुहरुले वर्षा र हिउँको कामना गर्दै सामुहिक पुजाआजा गर्नु परेको सुनाए ।

अनुकुल मौसममा समेत हिमपात नभएकाले मुस्ताङका डाँढाकाँढा यतिबेला हिउँ विहिन फुस्रा छन् । उपल्लो मुस्ताङमा २ पटक आशिंक हिमपात भएपनि तल्लो मुस्ताङमा अझै हिमपात भएको छैन । स्याउँ उत्पादनले केन्द्र मानिएको घरपझोङ,वारागुङ मुक्तिक्षेत्र र थासाङमा हिउँ नपरेपछि स्थानीय किसानमा निरासा छाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *