रेशमा अस्पताल बनाउन स्थानीयले दिए निःशुल्क जग्गा

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्न यहाँका स्थानीयले निःशुल्क रुपमा जग्गा उपलव्ध गराएका छन् ।

स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल बनाउन जग्गा अभाव भएको भन्दै यहाँका ९ जना स्थानीयले करिब ८ रोपनी जग्गा स्वास्थ्य चौकीको नाममा निःशुल्क नामसरी गर्नुभएको छ ।
आफ्नै गाउँ ठाउँमा अस्पताल बन्न जग्गा अभाव भएपछि यहाँका नौ जना स्थानीयले निःशुल्क जग्गा उपलव्ध गराएको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । “गत वर्ष अस्पताल निर्माणका लागि बजेट आएपनी स्वास्थ्य चौकीका नाममा जग्गा नहुँदा बजेट फिर्ता भयो” लामिछानेले भन्नुभयो “अहिले स्वास्थ्य चौकीका नाममा मौजुदा जग्गा सहित १३ रोपनी जग्गा पु¥याएका छौं, अव अस्पताल बनाउनका लागि प्रकृया अगाडी बढाएका छौं ।”

अस्पताल बनाउनका लागि स्वास्थ्य चौकी नजिकै रहेको जग्गा स्थानीयले दिएका हुन् । अस्पताल बनाउन विष्णु प्रसाद शर्माले ९ आना, मुरारी प्रसाद शर्माले एक रोपनी पाँच आना, दुर्गा प्रसाद शर्माले एक रोपनी, डण्डपानी शर्माले एक रोपनी चार आना, होमनाथ शर्माले ८ आना, पणनाथ शर्माले ६ आना, तील बहादुर क्षत्रीले एक रोपनी, पवित्रा कार्कीले एक रोपनी दुई आना र खिलानाथ शर्माले १२ आना जग्गा स्वास्थ्य चौकीको नाममा नामसरी गर्नुभएको छ ।

यस अघि लिलाधर शर्मा, श्याम प्रसाद शर्मा र श्याम शर्मा लगायतले पाँच रोपनी जग्गा स्वास्थ्यचौकीका नाममा प्रदान गरिसकेका थिए । जग्गालाई एकिकृत गर्नका लागि स्वास्थ्यचौकीले स्थानीयको सक्रियतामा दुई रोपनी जग्गा खरिद समेत गरिएको छ । आफ्नै गाउँमा सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि निःशुल्क रुपमा जग्गा स्वास्थ्य चौकीको नाममा पास गरिदिएको जग्गा दाता विष्णु प्रसाद शर्माले बताउनुभयो ।

रेश स्वाथ्य चौकी भएको जग्गाको लालपूर्जा नहुदा अस्पताल निर्माणमा ढिलाई भएपछि स्थानीयले जग्गा उपलव्ध गराएको वडा अध्यक्ष लामिछानेले बताउनुभयो । जग्गादाताहरुले स्वास्थ्य चौकीका नाममा एक हप्ता अगाडी मात्रै जिल्ला मालपोत कार्यालय बागलुङबाट जग्गा नामसरी गरदिएका थिए । जग्गा स्वास्थ्य चौकीको नाममा आइसकेपछि अस्पताल बनाउनका लागि प्रकृया थालिएको र आगमी वर्ष बजेट आउने अपेक्षा गरिएको छ । सरकारले हरेक पालिकामा पन्ध्र, दश र पाँच शैयाको अस्पताल बनाउने निर्णय अनुसार रेशमा अस्पताल बनाउन जग्गा व्यवस्थापन गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *