पञ्चेबाजा संरक्षणका लागि वडाले दियो बाजा

 आदर्श अनलाइन, स्याङ्जा
लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा ध्यान दिँदै वडाले बाजा हस्तान्तरण गरेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नं ७ ले विवाह, ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने लोपोन्मुख पञ्चेबाजा संरक्षण कार्यक्रमअन्तर्गत गह्रौँकालिका पञ्चेबाजा समूह पैदीलाई १० थान बाजा हस्तान्तरण गरेको हो ।

आफूहरुले बजाउँदै आएको बाजा पुरानो तथा बाजा अपुग भई समस्या भइरहेका बेला वडा कार्यालयले बाजा संरक्षणका लागि एक लाख ३० हजारको लागतमा १० थान बाजा खरीद गरी हस्तान्तरण गरेको वडाध्यक्ष पाण्डुकुमार थापाले बताउनुभयो ।

“गह्रौँकालिका पञ्चेबाजा समूहले वडा कार्यालयमा बाजाको माग गर्नुभएकाले वडाले बाजा संरक्षण कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरी सहयोग गरेका हौँ”, वडाध्यक्ष थापाले भन्नुभयो, “लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजाको संरक्षण गर्न सकियोस् र पुरानो पुस्ताको सीप तथा कलालाई नयाँपुस्तामा हस्तान्तरण गर्नुका साथै व्यावसायिकतामा जोड दिनका लागि सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

वडामा रहेका अन्य बाजा समूहलाई आवश्यक सीप तथा तालीम, आवश्यक पोशाक हस्तान्तरण गरिएको र आगामी दिनमा पनि बाजा संरक्षणका कार्यक्रम सञ्चालन गर्दै लगिने वडा अध्यक्ष थापाले बताउनुभयो । वडाको बजेटबाट सहनाइ, ट्याम्को, नरसिंहा, ढोलक, झुर्मासहितका एक सेट नौमती पञ्चेबाजा हस्तान्तरण गरिएको हो ।

“पछिल्लो समय विदेशी कलासंस्कृति र रीतिरिवाजको नक्कलका कारण नेपाली कलासंस्कृतिमाथि असर गरिरहेको छ”, वडाध्यक्ष थापाले भन्नुभयो, “हाम्रो कलासंस्कृतिको संरक्षण र जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व ठानेर बाजा हस्तान्तरण गरेका हौँ ।”

पुराना कलासंस्कृति हराउन नदिनका लागि वडा कार्यालयले नौमती बाजा उपलब्ध गराएर सहयोग गरेको समूहका अध्यक्ष कमल परियारले बताउनुभयो । “पुरानो पुस्ताको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि समूहमार्फत युवालाई सक्रिय बनाएर सीप सिकाइएको छ”, अध्यक्ष परियारले भन्नुभयो, “यहाँका युवाले विभिन्न मेला महोत्सव, धार्मिक तथा अन्य कार्यमा सहभागी भई बाजा बजाउँदै आएका छन् ।” कलासंस्कृतिको संरक्षणमा यो समूह तथा टोलका १६ घरपरिवारको सामूहिक प्रतिबद्धतासँगै सहकार्य रहेको अध्यक्ष परियारले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *