गाउँपालिकाको केन्द्र सार्न गण्डकी प्रदेश सरकारको सिफारिस

आदर्श अनलाइन, पोखरा
कास्कीको मादी गाउँपालिकाको केन्द्र वेत्याहनीमा सार्न प्रदेश सरकारले संघ सरकारमा सिफारिस गरेको छ । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद बैठकले मादी गाउँपालिकाको गाउँसभाले पहिलो विकल्पका रुपमा अघि सारेको वेत्याहनीलाई पालिकाको केन्द्र बनाउन संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको हो ।

वेत्यानीमा केन्द्र सार्ने गाउँसभाले गरेको निर्णयलाई संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको गण्डकी प्रदेशका प्रमुख सचिव हरि पोखरेलले जानकारी दिए । वेत्यानी केन्द्र बनाउने निर्णय प्रदेश सरकारको होईन,‘उनले भने,‘गाउँपालिकाको निर्णय अनुसारै प्रदेशले संघ सरकारलाई सिफारिस मात्र गरेको हो ।’

मादी गाउँपालिकाको गत वर्ष पुसमा भएको गाउँसभाले मादी गाउँपालिका वडा नम्बर ४ र ५ को मादी करिडोर छेउपर्ने वेत्याहनीलाई गाउँपालिका केन्द्रका लागि पहिलो विकल्पका रुपमा अघि सारेको थियो । शुरुमा गाउँपालिकाले वेत्यानीलाई नै केन्द्र बनाउने एकमात्र विकल्पका रुपमा अघि सार्ने तयारी गरेको थियो । गाउँपालिका अध्यक्षसहित नेकपाको बर्चस्व रहेको पालिकाको सो निर्णयबिरुद्ध कांग्रेस उभिएपछि दुई तिहाई बहुमत १ मतले नपुग्दा थप ३ विकल्प सार्न बाध्य हुनुपरेको थियो ।

गाउँसभाले दोश्रो विकल्पका रुपमा वडा नम्बर ३ स्थित याञ्जाकोट देउराली, तेश्रो विकल्पका रुपमा वडा नम्बर ४ को तारकाङस्थित माजडी र चौथो विकल्पका रुपमा साविक कार्यालय रहेको वडा नम्बर ३ स्थित याञ्जाकोटलाई प्रदेश र संघ सरकारमा सिफारिस गरेको थियो । वेत्यानीलाई मादीको केन्द्र बनाउने निर्णयप्रति कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य खगराज अधिकारी असहमत थिए । उनी तारकाङ माजडीलाई केन्द्र बनाउनुपर्ने पक्षमा उभिएका थिए ।

तर मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ वेत्यानीलाई केन्द्र बनाउने पक्षमा उभिएपछि विकल्पसहित प्रदेश र संघ सरकारलाई सिफारिस गरिएको थियो । सोहि सिफारिस अनुसार प्रदेश सरकारले संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीकोपनि चाहना अनुरुप ४ विकल्प मध्ये पहिलो विकल्प वेत्यानीलाई केन्द्र बनाउन सिफारिस गर्ने निर्णय भएको श्रोतको दाबी छ ।

गाउँसभाले चार विकल्प मध्ये जुनसुकै निर्णय भएपनि मान्य हुनेगरी सिपारिस गरेको थियो,त्यहि निर्णयमा टेकेर प्रदेश सरकारले संघमा सिफारिस गरेछ’–मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले भने ।

गाउँसभाको सिफारिस प्रदेश र त्यसपछि संघीय सरकारले स्वीकृत गरेपछि राजपत्रमा प्रकाशित हुनुपर्ने प्रावधान रहेको छ । प्रदेशले निर्णय गरेपनि संघले अझै निर्णय गर्न बाँकी छ । संघलेपनि चाँडै निर्णय गर्ने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताए । पहिले नै निर्णय हुनुपर्ने हो,उनले भने,‘ढिलो चाँडो संघलेपनि निर्णय गर्छ भन्ने आशा छ । तर निर्णयमा ढिलाई हुँदा हामीलाई काम गर्न भने समस्या भएको छ ।’

उनले संघ सरकालाई चाँडो निर्णय गर्न आग्रह गरे । गाउँपालिका कार्यालयको टुंगो नलाग्दा गाउँपालिका कार्यालयका लागि नया भवन, प्रहरी भवन, बहु उद्देश्ह्यीय भवनलगायत बनाउन ढिलाई भएको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *