गलकोटका खरेल परिवारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापना

आदर्श अनलाइन, बागलुङ

जिल्लाको गलकोटका एक परिवारले आफ्ना माता पिताको सम्झना र सम्मानमा पत्रकारिता पुरस्कार कोष स्थापना गरेका छन् ।

गलकोट नगरपालिका–९ मल्म, छिसका दिवङ्गत पिता टीकाराम खरेलको सम्झना र
९४ वर्षीय धनकला खरेलको सम्मानमा उहाँका सन्ततिले नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा ‘टीका–धन क्रियाशिल पत्रकारिता पुरस्कार’ स्थापना गरेका हुन् ।

जिल्लामा सक्रिय एक जना पत्रकारलाई वर्षेनि पुरस्कृत गर्ने उद्देश्यले शाखामा रु. एक लाखको पुरस्कार कोषका लागि रकम प्रदान गरिएको खरेलका कान्छा छोरा मित्र खरेलले जानकारी दिनुभयो । गलकोट पत्रकार समाजका अध्यक्ष समेत रहनुभएका उहाँले कोषबाट आउने ब्याजबाट पुरस्कार प्रदान गरिने बताउनुभयो ।

“आमाले ज्येष्ठ नागरिक भत्ता बापत पाएको रकम पुरस्कार कोषमा जम्मा गर्नुभएको छ, परिवारका तर्फबाट पनि सहयोग थपिएको छ”, मित्रले भन्नुभयो, “दिवङ्गत बुबाको पनि सम्मान होस् र पुरस्कारमार्फत पत्रकारिता क्षेत्रको प्रवद्र्धनमा पनि योगदान पुगोस् भन्ने सोचेर कोष स्थापना गरेका हौँ ।”

धनकला पुरस्कारको संरक्षक, छोराहरु मित्र, लीलाधर, बुहारीहरु सीता, देवकी, छोरीहरु मनकुमारी र मनरुपा सापकोटा कोषको संस्थापकका रुपमा रहेका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले तत्काल कार्यविधि बनाएर पुरस्कार कोष सञ्चालन तथा व्यवस्थापन गरिने बताउनुभयो ।

“महासङ्घका यो सहित चारवटा पुरस्कार कोष छन्, सबै पुरस्कार फरक–फरक विधामा प्रदान गरिन्छ”, उहाँले भन्नुभयो, “पत्रकारितामा उर्जाशील र फरक ढङ्गले काम गरिरहेका नयाँ पुस्ताका पत्रकारलाई प्रोत्साहित गर्ने गरी यो पुरस्कार दिने सोच छ ।” अध्यक्ष शिरीषले पत्रकारिता पुरस्कार स्थापना गरेर खरेल परिवारले अनुकरणीय कार्य गरेको बताउनुभयो ।

कोषको रकम संरक्षक धनकला र उहाँका परिवारका सदस्यले मङ्गलबार महासङ्घका शाखा अध्यक्ष शिरीषलाई हस्तान्तरण गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *