पर्वतमा रहेको एशियाकै ठूलो महाशिलाको जगतगुरुद्वारा भ्रमण

आदर्श अनलाइन, पर्वत
पालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले पर्वतमा रहेको एशियाकै ठूलो महाशिलाको भ्रमण गर्नुभएको छ ।

उहाँले पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित एशियाकै ठूलो महाशिला र आसपासमा रहेका धार्मिकस्थलको अवलोकन गर्नुभएको हो । धार्मिक एवं पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको महाशिलाको अध्ययन तथा अवलोकनका लागि पहिलोपटक जगतगुरु महाशिला गाउँपालिकामा आइपुग्नुभएको हो ।

उहाँले शिलाको परिक्रमा गर्दै नवनिर्मित संरचना र महाशिला गुरुयोजनामा समेटिएका विषयवस्तुका बारेमा जानकारीसमेत लिनुभयो । जगतगुरुले महाशिलाको महिमा वर्णनयोग्य रहेकाले आफूले प्रकाशन गर्न लागेको कृतिमा समावेश गर्ने बताउनुभयो । उहाँले कालीगण्डकीको तटीय क्षेत्र तथा गण्डक क्षेत्रमा पर्ने हुँदा यो शिला पुज्न योग्य रहेकोसमेत बताउनुभयो ।

जगतगुरुलाई महाशिलाको बारेमा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, महाशिला संरक्षण तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुष्पराज पौडेललगायतले जानकारी गराउनुभएको थियो ।

जगतगुरु महाशिलाबाट फर्केर केही दिनका लागि पर्वतका पवित्र धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणीमा बसेर प्रवचन दिने कार्यक्रम छ । उहाँले माघ २७ गतेसम्म कृष्णगण्डकी र शालिग्राम शिलाको बारेमा प्रवचन दिनुहुनेछ ।

महाशिलामा बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षय तृतीयालगायत चाडपर्वमा मेला लाग्ने गर्दछ । महाशिलाको विकासका लागि गाउँपालिकाले यसअघि नै रु ७० करोडको विस्तृत परियोजना बनाइसकेको छ । सोहीअनुसार सङ्घ, प्रदेश र गाउँपालिकाको सहयोगमा अर्धनारीश्वरको मूर्ति स्थापना गर्न थालिएको छ भने१०८ धारा निर्माण भइसकेको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *