सामूदायिक वन उपभोक्ता महासंघको पञ्चकोटमा भेला

थम्मन थापा, बागलुङ
सामुदायिक वन उपभोक्ता महासंघ बागलुङले आइतबार पञ्चकोटमा भेला सम्पन्न गरेको छ ।
स्थानीय सामूदायिक वन उपभोक्ता महासंघ बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ ले संयुक्त रुपमा आयोजना गरेको भेलामा सहभागीले सामुदायिक वनको संरक्षण, उपयोग र आयआर्जनमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव सापकोटाले सामुदायिक वन राष्ट्रको महत्वपूर्ण सम्पति भएकाले यसको संरक्षण सम्वद्र्धन गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । बन जंगल र मानिस बीच जन्मे देखि मृत्यु सम्मको सम्बन्ध रहने भएकोले बनमा प्राकृतिक श्रोत साधनको उचित संरक्षण र उपयोग गर्दै आर्थिक समृद्धिमा जोडिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष खगराज पाण्डेले सामुदायिक वन उपभोक्ता समुह सँगको सहकार्यले विकास निर्माण गर्न सहज हुने बताउनुभयो । वडा स्तरमा योजना माग गर्दा सामुदायिक वनको उपभोक्ता समिति मार्फत गरेमा त्यो प्रभावकारी, व्यवस्थित र पारदर्शी हुने उहाँले बताउनुभयो ।

बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बेनी नगरपालिका म्याग्दीको संगम स्थल रहेका सामुदायिक वन मार्फत पर्यापर्यटन, मालिका भगवती, पञ्चकोटलाई जोड्दै सामुदायिक बनमा जिओलोजिकल पार्क निर्माण गर्न आवश्यक काम भइरहेको छ । यो वर्ष गण्डकी प्रदेश सरकार बाट ५० लाखको टेण्डर प्रक्रिया गरी काम अघि बढाएको छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश समितिका सदस्य कुलबहादुर कार्की, बागलुङका अध्यक्ष राजबहादुर थापा, निजी तथा पारिवारिक वन संघका जिल्ला अध्यक्ष हरिप्रसाद रेग्मी, संसारकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयबहादुर कार्कीले मन्तव्य राख्नु भएको थियो ।

पञ्चकोट स्थित सभा हलमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ का विभिन्न सामुदायिक बनका प्रमुख, प्रतिनिधि तथा उपभोक्ताको उपस्थिति रहेको थियो । सो अवसरमा कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका लेखा संयोजक रामबहादुर केसीले प्रस्तुत गर्नुभएको थियो । सामुदायिक वन उपभोक्ता महासंघले बागलुङ नगरपालिका भित्रका अन्य वडाहरुमा यो कार्यक्रम क्रमशः गरिने महासंघले जनाएको छ ।

कार्यक्रम संसारकोट सामुदायिक वन उपभोक्ता समूहका सचिव पूर्णप्रसाद गैरेको अध्यक्षता र ढाँड सामुदायीक वन उपभोक्ता समूहका सचिव चक्रपाणी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *