१३ बुँदे प्रस्ताव पारित गर्दै प्रेस संगठन गण्डकी भेला सम्पन्न

आदर्श अनलाइन, पोखरा

श्रमजीवी र जनपक्षीय पत्रकारको अगुवा संगठन प्रेस संगठन नेपाल गण्डकी प्रदेशको प्रदेशस्तरीय भेला १३ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

समृद्ध नेपाल निर्माणका लागि ‘पूर्ण प्रेस स्वतन्त्रता सहितको सवल श्रमजिवी पत्रकार, स्थिरता विकास र राष्ट्रिय स्वाधिनताको रक्षा प्रेस संगठनको आधार’ भन्ने मुल नाराकासाथ सुस्मा पौडेलको संयोजकत्वमा सम्पन्न भेलाले १३ बुँदा प्रस्ताव पारित गरेको हो ।

प्रस्तावमा संवैधानिक सर्वोच्चतालाई आत्मसात् गर्दै तोकिएको समयमा निर्वाचन गर्ने वातावरण सृजना गर्न आग्रह गरिएको छ भने निर्वाचनमा जाने घोषणा सर्वोत्तम लोकतान्त्रिक विधि भएको ठहर गरेको छ ।

भेलाले श्रमजीवी पत्रकार ऐन कार्यन्वयका लागि भूमिका खेल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

अभिव्यक्ति स्वतन्त्रताको नाममा हुने कुनैपनि अभद्र, अश्लिल गालि गलौजलाई निरुत्साहित गरेर प्रेस स्वतन्त्रताको पक्षमा उभिन, विभिन्न वहानामा सञ्चार संस्थाहरुले श्रमजीवी पत्रकारको पारिश्रमिक रोक्ने निष्काशन गर्ने, जागिर छाड्न बाध्य पार्ने सञ्चार संस्थालाई न्यूनतम पारिश्रमिक ऐन अनुसार व्यवस्थापन गर्दै रोकिएको पारिश्रमिक तत्काल दिन सम्बन्धित सञ्चार संस्थासँग माग गरिएको छ भने सञ्चार माध्यमलाई समावेशी र लैगिकमैत्री बनाउन भनिएको छ ।

कोरोना संक्रमणको कारण मृत्यु हुने श्रमजीवी पत्रकारहरुको कोरोना बिमा रकम दिन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

प्रस्तावमा सांगठिनक संरचनामा राज्यले अंगिकार गरेको समावेशिताको सिद्धान्तलाई अवलम्बन गर्दै कार्यान्वयन गर्न माग गरिएको छ ।

पत्रकारिता पेशालाई मर्यादित, जवाफदेही र आकर्षणयुक्त बनाउन आचार संहिताको पूर्ण पालना गर्दै क्षमता अभिबृद्धि हुने खालका कार्यक्रम सञ्चालनका लागि सम्बन्धित पक्षलाई आग्रह गर्दै विकसित राजनीतिक परिस्थितीअनुसार संगठनलाई प्रदेशमा र जिल्ला तहमा क्रियाशिल र गुणस्तरीय बनाउन भेलाले संकल्प गरेको छ ।

भेलालले कोरोना विरुद्धको खोप पत्रकारलाई पनि लगाउने सरकारको निर्णय स्वागत गर्दै उक्त खोप आम नागरिकको पहुँचमा छिटो पुर्याउन आग्रह गरिएको छ ।

त्यसैगरी प्रदेश सरकार अन्तर्गत गठन हुनुपर्ने प्रेस रजिष्टारको कार्यालय स्थापनाका लागि गण्डकी प्रदेश सरकारसँग विशेष आग्रह गर्दै आम संचार ऐन र एफ एम सञ्चालन सम्बन्धी ऐन तत्काल निर्माण गरी कार्यान्वयन गर्न प्रस्तावमा उल्लेख गरिएको छ ।

नेपाल सरकारबाट प्रदान गरिने प्रेस पत्रकार परिचयपत्र, सञ्चार माध्यम नविकरण लगायतका काम जिल्लाबाट हुने नेपाल सरकारको निर्णयको स्वागत गर्दै अविलम्ब कार्यान्वयन गर्न पनि उल्लेख गरिएको छ ।

विभिन्न ओहोदामा रहेका तथा आम महिलामाथि यौनिकताका आधारमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा हुने चारित्रीक गालीगलौज बन्द गर्न र दोषीलाई कार्बाह गर्न पनि भेलाले माग गरेको छ ।

समसामयिक प्रस्ताव लेखन समितिमा प्रेस संगठनका केन्द्रीय सदस्य जमुना शर्मा वर्षा र प्रकाशचन्द्र भट्टराई, गोरखापत्र गण्डकी प्रदेशका प्रमुख चन्द्रगणेश पौडेल रहेका थिए ।

यसअघि भेलाको उपप्रधानमन्त्री इश्वर पोखरेलले उद्घाटन गरेका थिए ।

उदघाटन सत्रलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले राजनीतिक स्थायित्वका लागि पार्टी एकिकरण गरेको उल्लेख गरेको तर प्रचण्डले सहमति बेगर आफ्नो स्वार्थ समुहको ‘फेडेरेशन’ गराउन खोज्दा संसद विघटनको अवस्था आएको बताए ।

“हामीले देशमा अराजकता नियन्त्रण होस्, समृद्ध नेपालको स्थायी सरकार होस्, संविधानको रक्षा गर्न सकियोस् भनेर पार्टी एकतामा गयौँ, तर प्रचण्डको रणनीति अर्कै रहेछ ।” ,उनले भने ।

हिंसात्मक गतिविधिका कारण प्रचण्डको टाउकोमाथि तरवार झुण्डिरहेकोले शक्ति बाहिर बस्दा असुरक्षित महससु गरेर प्रचण्ड शक्ति हातमा लिन विभिन्न प्रपञ्च रचेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री पोखरेले पत्रकारमा पेशागत दक्षता आवश्यक रहेको उल्लेख गर्दै विचार प्रतिको प्रतिवद्धता पनि हुनुपर्नेमा जोड दिए ।
भेलामा नेकपाका, प्रेस संगठनका केन्द्रीय, प्रदेश स्तरका नेताहरुले सम्बोधन गर्नुभएको थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *