संसद पुन: स्थापनाको निर्णय जनताको पक्षमा : सभामुख अधिकारी

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले प्रतिनिधि सभा पुनस्र्थापनाको विषयमा सर्वोच्च अदालतले गरेको फैसला जनताको पक्षमा रहेको बताएका छन ।

बागलुङ नगरपालिका– ६ भिरलाङ्खुरीमा स्थानीय भिरलाङ्खुरी युवा क्लबले आयोजना गरेको प्रथम महेन्द्र सुवेदी स्मृति ‘सेभेन ए ’ साईड प्रतियोगिताको उद्घाटन गर्दै उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेर जनताको पक्षमा सुनुवाई गरेकोमा नेपाली जनताले अदालतलाई धन्यवाद प्रकट गरेको बताएका छन । सर्वोच्च अदालतले नेपालको संविधान अनुरसार कार्य गरेको उनको भनाई थियो ।

संविधान कुनै एक दुई जनाको मात्र नभई सम्पूर्ण नेपाली जनताको रहेकाले संविधानसंग खेल्ने कसैसंग अधिकार नरहेको उनको भनाई छ । ‘मुलुकमा संघियतासंगै देशमा तीन तहको सरकार बनेको छ,’सभामुख अधिकारीले भने,‘तीनै तहका निकाय संविधान अनुरुप चल्नुपर्ने हुन्छ । संविधान अनुरुप चल्न सकेनौ भने किन विधिको सासन चाहियो ?’ दुई तिहाईको सरकारले संसद विघटन गर्नु र चुनावको घोषणा गर्नु संविधानको विपरित रहेको उनको भनाई छ । ‘दुई तिहाईको सरकारले जसरी संसद विघटन ग¥यो र चुनावको घोषण ग¥यो उक्त काम संविधानको विरुद्धमा थियो,’ उनले भने ।

उनले संसद विघटन संविधान अनुरुप नभएको पनि बताए । अधिकारीले खेलकुद क्षेत्रमा युवाहरुको बढ्दो आकर्षणले देशको खेलको भविष्यमा राम्रो रहेको बताए । आफु खेल क्षेत्रको नभए पनि खेल क्षेत्रमा आफुले गर्न सक्ने सम्पूर्ण कामको लागि आफु प्रतिवद्ध रहेको उनको भनाई थियो । ‘नयाँँ यु्वाहरुको खेल क्षेत्रमा आकर्षणले देशको खेल क्षेत्र नै भविष्यमा अझ राम्रो हुने देखिन्छ,’ उनले भने,‘खेल संग म सम्बन्धित नभए पनि मैले सम्बन्धित सबैसंग समन्वय गर्न तयार छु ।’ उनले आगामी दुई वर्षमा गण्डकी प्रदेशका सम्पूर्ण स्थानीय तहमा खानेपानीको पहुँचमा पुग्ने गरी काम भैरहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले खेलकुद क्षेत्रको विकासका निम्ति गण्डकी प्रदेश सरकारले लगानी गर्न जरुरी रहेको बताए । कार्यक्रममा नेकपाका गण्डकी प्रदेश सचिवालय सदस्य हिराबहादुर केसी, बानपा—६ का वडाध्यक्ष खेमराज सापकोटा लगायतले बोलेका थिए । कार्यक्रम क्बलका अध्यक्ष अरुण सुवेदीको अध्यक्ष सञ्चालन नारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । आगामी १५ गतेसम्म विविध खेलकुदका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभिन्न जिल्लाका १६ समूहको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा बा.न.पा ६ खेलकुद विकास समितिले तिरुपति बालाजी युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा तिरुपति बालाजी युवा क्लबलाई पराजित गर्दै बा.न.पा ६ खेलकुद विकास समितिले आफ्नो विजयी यात्राको सुरुवात गरेको हो । बिहीबार हुने पहिलो खेलमा फ्युचर स्पोस्ट्र्स क्लब र भिके गाईज ‘बी’ भिड्ने क्लबका अध्यक्ष अरुण क्षेत्रीले बताएका छन् । बिहीबारको दोस्रो खेलमा ‘एल्डी’ मल्ल ‘ए’ र युनाईटेड ४ पँहेलो भिड्ने छन् ।

तेस्रो खेल रामरेखा फुटबल क्लब र गुठी युनाईटेड खेल्ने छन् । चौथो खेल ‘एल्डी’ मल्ल ‘बी’ र युनाईटेड ४ सेतो खेल्ने छन् भने अन्तिम खेल बाल टाकुरा तातोपानी र आयोजक भिके गाईज ‘ए’ भिड्ने छन् । प्रतियोगिताको प्रथम हुने टोलीलाई ६० हजार ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो स्थान हाँसिल गर्ने टोलीलाई ३० हजार ट्रफी मेडल र प्रमाण पत्र र तेस्रो हुने टोलीलाई १५ हजार मेडल र प्रमाण पत्र पुरस्कार रहेको छ । कार्यक्रममा अन्य विविध सांगितिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *