पूर्व सहमति अनुसार महासंघको सर्वसम्मत नेतृत्व चयन गर्ने युनियनको निर्णय

आदर्श अनलाइन, बागलुङ
नेपाल प्रेस युनियन बागलुङले आसन्न पत्रकार महासंघ बागलुङको अधिवेशनमा पूर्व सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । युनियनको बिहीबार बसेको बैठकले विगतको भएको सहमति अनुसार प्रेस युनियनको नेतृत्वमा सर्वसम्मत महासंघको आगामी नेतृत्व चयन गर्न पहल गर्ने निर्णय गरेको प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तले बताए ।

‘अघिल्लो पटक पत्रकार महासंघको नेतृत्व चयन गर्दा हामीले एउटा सहमति गरेका छौं,’ उनले भने,‘त्यही सहमति अनुसार अबको पालो प्रेस युनियनबाट महासंघको नेतृत्व गर्ने भन्ने छ । हामीले पूर्व सहमतिको आधारमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रियामा अगाडी बढ्न सबै पत्रकार सम्बद्ध पेशागत संघ संगठनलाई आह्वान गरेका छौं ।’

पत्रकार महासंघमा विगतमा दिनमा तिक्ततापूर्ण इतिहास पनि रहेको र सर्वसम्मत नेतृत्व चयन हुँदा पत्रकार महासंघले धेरै संस्थागत र पेशागत उपलब्धी हाँसिल गर्न सकेकाले यस पटक पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रेस युनियनले भूमिका खेल्ने पत्रकार महासंघ बागलुङका उपाध्यक्ष एवं प्रेस युनियनका निवर्तमान अध्यक्ष नरेश कँडेलले बताए । बागलुङमा पूर्व सहमति भैसकेकाले निर्वाचनका लागि केन्द्र र प्रदेशमा हुने गठबन्धनले बागलुङमा प्रभाव नपार्ने उनले बताए ।

‘दिल शिरीषको नेतृत्वमा हामीले पत्रकार महासंघको कार्यसमिति बनाउँदा हामीले माइन्युट नै गरेर सहमति गरेका छौं,’ उनले भने,‘विगतमा हामीले एक अर्कालाई निषेध गरेर जाँदा हुने परिणामहरु देखेका छौं भोगेका छौं, त्यही अनुभवका कारण अघिल्लो पटक सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । त्यतीबेलाको सहमति अनुसार यो पटक प्रेस युनियनको नेतृत्वमा सर्वसम्मत बनाउने कुरामा हामी दृढ छौं ।’

सर्वसम्मत पत्रकार महासंघको नेतृत्व चयन गर्दा र कुनै समुहलाई निषेध गरेर जाँदाका दुबै परिणामहरु पत्रकार महासंघ बागलुङले भोगका कारण श्रमजिवी पत्रकाहरुको दुःख सुखको सारथी बनाउन महासंघको नेतृत्व सर्वसम्मत गराउने विषयमा प्रेस युनियनले पहल गर्ने निर्णय उपाध्यक्ष संगम घर्तीमगरले बताए ।

‘पत्रकार महासंघमा हाम्रो विगत त्यति सुखद थिएन, अघिल्लो अधिवेसनमा सर्वसम्मत नेतृत्व चयन गरेका कारण महासंघको भवन निर्माणदेखि लिएर सदस्यता सुद्धीकरण तथा पत्रकारको क्षमता विकास लगायतका कार्यहरुमा उल्लेख्य सफलता प्राप्त भएको हो,’ उनले भने,‘यो पटक पनि सबै मिलेर जानुपर्छ त्यसको आधार पूर्व सहमतिको कार्यान्वयन हो भन्ने विषयमा प्रेस युनियन दृढता पूर्वक उभिन्छ ।’

महासंघलाई सर्वसम्मत बनाउनका लागि युनियनले अन्य संघ संगठनहरुसंग छलफल अगाडि बढाउने समेत निर्णय गरेको छ । एलायन्स र बहुमतको नाममा कुनै पनि संगठनलाई निशेध गर्ने अवस्था आउन नदिन युनियनले आग्रह समेत गरेको छ । युनियनको बैठकले प्रेस युनियन बागलुङका पूर्व अध्यक्ष दुर्गादत्त आचार्यको असामयिक दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *