रेश साना किसान सहकारीका सदस्यलाई सहकारी सचेतना

प्रजापति गौतम, बागलुङ

रेश साना किसान सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नं. ७ को आयोजनामा संस्थाका शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा कार्यक्रम शुक्रवार सम्पन्न भएको थियो ।

सहकारीका सदस्यहरुलाई उनीहरुको काम कर्तव्य अधिकारका बारेमा जानकारी गराउनुका साथै सदस्यहरुलाई संस्थाप्रति उत्तरदायी बनाउनका लागि तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष याम बहादुर कार्कीले जानकारी दिनुभयो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहकारीको सफलताका लागि शेयर सदस्यहरुको सक्रिय सहभागितामा जोड दिनुभयो ।

सदस्यहरु नै सहकारीका मालिक भएकाले उनीहरुलाई बढी भन्दा बढी सहकारीसंग सम्बन्धित बनाउने, उनीहरुलाई संस्थाले सञ्चालन गरेका सबै कार्यक्रममा सहभागी बनाउने योजना आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा काठेखोला वडा नं. ७ का वडा सदस्य मुक्तिराज थापा, वडा सचिव रिता जिसी कुँवरले सहकारीलाई प्रभावकारी बनाउनका लागि सहकारी शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले सदस्यहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको थियो ।

तालिमका सहभागी भीम कुमारी जिसीले सदस्यहरुलाई सक्रिय रुपमा संस्थामा कारोबार गर्न तथा सस्थाका कार्यक्रमहरुमा सक्रिय सहभागिताका लागि तालिम सहयोगी भएको बताउनुभयो । तालिम कार्यक्रम संस्थाका अध्यक्ष याम बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष उजेली शर्माको स्वागत र प्रवन्धक उषा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

संस्थामा हाल १ सय २० समुह, ८ सय जना शेयर सदस्य, ३५ लाख शेयर रकम, १ करोड ७७ लाख वचत, २ करोड १ लाख रुपैया कर्जा लगानी रहेको प्रवन्धक उषा थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *