समाज रुपान्तरणका लागि सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ : मन्त्री तुम्बाहाम्फे

आदर्श अनलाइन, पोखरा
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले समाज रुपान्तरणका लागि महिलाहरुको सबै ठाउँमा अर्थपूर्ण सहभागिताका लागि सहकारी र स्थानीय सरकारका बीच समन्वय आवश्यक रहेको बताउनु भएको हो ।

राष्ट्रिय महासंघले मन्त्रालयको सहयोगमा पोखरामा आयोजना गरेको सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक २ दिने गण्डकी प्रदेश स्तरीय गोष्ठीको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

संविधानले महिलाको ३३ प्रतिशत सहभागिता ग्यारेण्टी गरेको छ, तर अझै पनि राज्यका निकाय तथा सामाजिक संघ संस्थाहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता छैन, मन्त्री तुम्बाहाम्फेले भन्नुभयो–‘सहभागिता र संलग्नता मात्रै होइन समाज रुपान्तरणका सबै महत्वपूर्ण क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकता छ ।’

मुलुकको समृद्धिका लागि स्थिरताका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने भएकाले सहकारीमा रहेको श्रम, शक्ति र पूँजिलाई आर्थिक विकासमा जोड्नका लागि ध्यान दिनु पर्ने र त्यसका लागि कानुन वाधक भएका समयानुकुल परिमार्जन गर्न सकिने मन्त्री तुम्बाहाम्फेले बताउनुभयो ।

भूमि हिन तथा अव्यवस्थित बसोबास व्यवस्थापनका लागि स्थानीय तहले ध्यान दिनु पर्नेमा जोड दिदै उहाँले भूमि सम्बन्धी समस्या समाधानमा सहकारीको भूमिकालाई पनि बढाउन सकिने उहाँको भनाइ छ ।

कार्यक्रममा संघीय सभाका सदस्यहरु मन कुमारी केसी जिसी र विद्या भट्टराईले सहकारी क्षेत्रको प्रवद्र्धन गरी उद्यमशिलताको विकास मार्फत महिला र युवाहरुलाई समाज रुपान्तरणमा सक्रिय बनाउनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्वमन्त्री केशव बडालले समाजमा विद्यमान बहुआयामिक गरिवी न्यूनिकरणमा सहकारी र स्थानीय तहबीचको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले सहकारीमार्फत स्थानीय स्रोत साधनको परिचालनका लागि स्थानीय तहको भूमिका र सहकारीको सहयोगका लागि समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलको अध्यक्षता, महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) को स्वागत र डिजिएम बाबुल खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

गोष्ठीमा गण्डकी प्रदेशका प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरीधारी शर्मा पौडेलले गण्डकी प्रदेशको समृद्धि र सहकारी अभियान विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

यस्तै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चन्द्रकला पौडेलले दिगो स्थानीय आर्थिक विकासमा प्रदेश तथा स्थानीय तह र सहकारीबीचको समन्वय र सहकार्य विषयक तथा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले दिगो विकास लक्ष्यको स्थानीयकरणमा स्थानीय तह र सहकारी विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरु, गण्डकी प्रदेशबाट सहकारीका केन्द्रीय संघमा प्रतिनिधित्व गर्ने सहकारीका अगुवाहरु, जिल्ला सहकारी संघ तथा विषयगत सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत करिव २ सय जनाको सहभागिता रहेको छ ।

कार्यक्रमको दोस्रो दिन बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीले सहकारी मार्फत उद्यमशिलता प्रवद्र्धनमा नीतिगत व्यवस्था, स्थानीय तथा प्रदेश सरकारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रस्तुत सबै कार्यपत्रहरु माथि सहभागीबाट छलफल गर्नुकासाथै प्यानल छलफल गरी पोखरा घोषणापत्र जारी गर्ने महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *