अब बागलुङमा विद्युतीय स्कुटर

आदर्श अनलाइन,बागलुङ

जिल्लामा पहिलो पटक इलेक्ट्रिक (विद्युतीय) स्कुटर भित्रिएको छ ।

‘एस एण्ड एस’ अटोमोबाइल बागलुङले भारतीय कम्पनी टुनवालको विद्युतीय स्कुटर बजारमा ल्याएको हो ।

विद्युतीय स्कुटर एक लाख ३५ हजारदेखि दुई लाख १७ हजार रुपैयाँमा खरिद गर्न सकिने शो रुमका सञ्चालक विष्णुराज पन्तले बताए । उनका अनुसार लिथियम र लिड गरी दुई किसिमका ब्याट्रीबाट चल्ने स्कुटर शो रुममा छन् ।

लिथियममा आधारित ब्याट्री भएको स्कुटर एकपटक चार्ज गरे पछि १०५ किमि र लिड ब्याट्रीबाट ६५ किमि गुड्छ । लिथियम ब्याट्रीको एक लाख ५० हजार किमि र लिड ब्याट्रीको ६५ हजार किमि ग्यारेण्टी रहेको सञ्चालक पन्तको भनाइ छ ।

सो रुम उद्घाटनकै दिन विद्युतीय स्कुटर खरिद गर्दै पर्वतका रामकुमार केसी र बागलुङका राजु पुन ।

स्कुटर लगायत अन्य पाटपुर्जामा एक वर्षको ग्यारेण्टी छ । स्कुटरको प्रति घण्टा ५५ किमि सम्म गुड्न सक्ने क्षमता छ । विद्युत् भएको ठाउँमा ब्याट्री सजिलै चार्ज गर्न सकिनेछ । बागलुङ बजारका मुख्य स्थानमा चार्जिङ स्टेशनसमेत राख्ने तयारी गरिएको सञ्चालक पन्तले बताए ।

स्कुटर शो रुमको बिहीबार बागलुङ नगरपालिकाका नगर प्रमख जनकराज पौडेलले शुभारम्भ गरे । उनले विद्युतीय सवारीसाधनले वातावरणीय स्वच्छता कायम राख्न सघाउनुका साथै स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउने बताए । “इन्धन खरिदमा नेपालबाट वार्षिक अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ”, नगरप्रमुख पौडेलले भने, “विद्युतीय सवारीसाधनको प्रयोगकले देशभित्रै पूँजी र स्रोत साधनको परिचालन हुनेछ ।”

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिँह थापाले सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिइरहेका बेला बागलुङमा विद्युतीय स्कुटर भित्रनु सुखद् रहेको बताए । कानून अनुसार दर्ता गरेर विद्युतीय स्कुटर सञ्चालनको प्रबन्ध मिलाइने उनको भनाइ छ ।

वातावरणमैत्री विद्युतीय स्कुटर सञ्चालनले बजार क्षेत्रको प्रदुषण घटाउन टेवा पुग्ने अपेक्षा गरिएको छ । शो रुमको शुभारम्भसँगै नगर प्रमुख पौडेलले पनि विद्युतीय सवारीसाधानको प्रवद्र्धनका लागि नगरपालिकाका तर्फबाट एउटा स्कुटर खरिद गर्ने प्रतिबद्धता जनाए । बिहीबार नै पर्वतका रामकुमार केसी र बागलुङका राजु पुनले स्कुटर खरिद गरेका थिए । शो रुमसँगै मर्मत केन्द्र पनि सञ्चालनमा ल्याइनेछ ।

उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरीष, जिल्ला टाफिक प्रहरी प्रमुख शिव पाठकले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत अजुर्न शर्मा र सञ्चालन पत्रकार अनिश खातीले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *