प्रचण्ड–नेपाललाई व्यङ्ग्य गर्दै ओलीले भने–माकुराको जालोमा भैंसी पर्दैन

आदर्श अनलाइन, काठमाडौँ
प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका नेता माधव कुमार नेपाल सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका विपक्षीहरुले बुनेका तानावानाले आफूलाई कुनै फरक नपर्ने बताएका छन् ।  उनले माकुराको जालोमा भैसी नपर्ने भन्दै ब्यङ्ग्य पनि गरे । 

‘हामी धेरै सजिला अप्ठेराहरु झेलेर आएका छौं । जेलनेल, भूमिगत, दमन, लडाइँ–झगडा खेपेर त्यसविरुद्ध लडेर आएका छौं,’ अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले भने, ‘त्यसकारण म भन्ने गर्छु माकुराले थापेको जालोमा भैसी पर्दैन । अहिले पनि माकुराहरूले थुुप्रै जालो थापे । तर गैडा सुरु–सुरु अघि बढ्छ । जालो कहाँ थियो, त्यसले थाहै पाउँदैन । हामी देश विकासको कुरा हेरेर अघि बढेका छौं ।’
प्रचण्ड–नेपाललगायतलाई संकेत गर्दै उनले भने,‘ माकुराले कहाँ जालो थापेको छ ? जालो चुँडाएपछि ऊ कराउन थाल्छ – जालो चुडिँयो, यसरी चुडाउन पाइदैंन भन्छ । उसले थापेको जालो नै थाहै नपाई चुँडिन खालको छ त म के गरौं ?’

उनले यदि आफू नेतृत्वको सरकार नरहे अब हुने चुनावबाट फेरि दुई तिहाइ बहुमत ल्याएर फेरि सिंहदरबार पस्ने बताए ।  उनले भने,‘कसैलाई प्रतिपक्षमा बस्न के–के न गाह्रो हुन्छ । ०७३ सालमा म प्रधानमन्त्रीबाट हटाइएँ । १९ महिनापछि दुुई तिहाई लिएर फर्किएँ । अहिले हटाउन सक्छ भने हटाओस् । हटाउने प्रयास भइरहेको छ । तर, २० महिनापछि फेरि यो पार्टी, सूूर्य चिन्हधारी पार्टी, नेकपा एमाले नामको पार्टी, दुुई– तिहाई लिएर सिंहदरबारबाटे मुलगेटबाट फेरि पस्छ । हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं । हामी राजनीतिक प्राणी हौं ।’

उनले आफ्नो गन्तव्य सत्ता नभएर देश विकास भएको बताए । ‘हाम्रो गन्तव्य सत्ता होइन । हाम्रो गन्तव्य देशको विकास हो, जनताको समस्या साधान गर्दै अघि बढ्ने कुरा हो । हामीले निर्धारित गरेका लक्ष्यहरु कृषिको आधुनिकिकरण हो । रोजगारीका अवसरहरू सिर्जना गरेर अगाडि जाने कुरा हो । यस देशमा जनतालाई हेर्ने हामीबाहेक अरु को छ र ?’उनले भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *