पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु

आदर्श अनलाइन, तनहुँ
तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा आजदेखि पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ ।

स्थानीय कला र संस्कृतिको जगेर्ना, पर्यटकीय स्थलको प्रचारप्रसार, कृषि तथा हस्तकलाको प्रर्दशनी र प्रवद्र्धन गर्ने उद्देश्यसहित झोर्ले गणेश युवा क्लबको आयोजनामा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । उक्त महोत्सव आगामी चैत १ गतेसम्म सञ्चालन हुनेछ ।

ऋषिङमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै ऋषिङलाई देश तथा विदेशमा परिचित गराउन महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक शम्भु थापाले बताए ।

लाङ्घाली युवा क्लब जैसी हटिया तथा विभिन्न आमा समूह, क्लब र सामुदायिक वन उपभोक्ता समितिहरु सहयोगी संस्था रहेको महोत्सवको २० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा रु १५ लाख बराबरको आर्थिक कारोवार हुने आयोजकको अनुमान छ । कोरोना कहरपछि पहिलो पटक जिल्लामा महोत्सव आयोजना भएको हो ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, विभिन्न जातजातिका सांस्कृतिक नाचहरु ज्यानै, ओहोली, झ्याउरे, चुड्का, लाखे, घाटु, पञ्चैबाजा तथा लोकदोहोरी कार्यक्रमहरु मुख्य आकर्षणको रुपमा रहेको छ । यस्तै मगरजातिको लोपोन्मुख रोदीको झलक, रोटेपिङ, मगरजातिको खानाको परिकार पनि महोत्सवका आकर्षणका रुपमा रहेको आयोजकले जनाएको छ ।

ऋषिङमा रानीपोखरी, गढीदरबार, कोटदरबारजस्ता ऐतिहासिकस्थल रहेका छन् भने अजम्बरी माई, दुर्गा भवानी, ज्यामिरे माई, कल्याणदेवी, गड्गेश्वर महादेव मन्दिर र दुबुङ भ्यूटावरलगायतका थुप्रै धार्मिक तथा पर्यटकीयस्थल छन् । महोत्सवले यी स्थलको पनि प्रचारप्रसार हुने विश्वास गरिएको छ ।

महोत्सवको उद्घाटन गर्दै तत्कालीन संविधानसभा सदस्य झुलबहादुर आलेले ऋषिङ सांस्कृतिक महोत्सवले ऋषिङको पहिचान स्थापित गर्न सहयोग पुग्ने जनाउँदै स्थानीय वस्तुलाई प्राथमिकता दिनुपर्ने बताए । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले धार्मिक तथा ऐतिहासिक स्थल रहेको ऋषिङको विकासका लागि योजना बनाएर अगाडि बढेको उल्लेख गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *