आर्थिक रुपान्तरण बिना समाजमा विद्यमान विभेद अन्त्य हुदैन : मन्त्री महतो

सिर्जना पन्त, बागलुङ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले समाजमा विद्यमान सबै प्रकारका विभेद अन्त्यका लागि महिलाहरुको आर्थिक रुपान्तरण आवश्यक रहेको बताउनुभएको छ । महिलाको आर्थिक रुपान्तरणका लागि सहकारी क्षेत्रको भूमिका अत्यन्तै महत्पूर्ण रहेको उहाँको भनाई छ ।

महिलाको सहभागितासंगै उनीहरुको आर्थिक रुपान्तरणमा सहकारी क्षेत्रले खेलेको भूमिकालाई राज्यले पहिचान गरेको र आगामी दिनमा थप प्रभावकारी बनाउन पहल गर्ने उहाँको प्रतिवद्धता थियो । राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा आयोजना गरेकोे सहकारीमा महिला समावेशिता विषयक २ दिने राष्ट्रिय गोष्ठीको आइतवार उद्घाटनपछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

समाजमा विभिन्न खालका विभेद छन्, तिनको अन्त्यका लागि शिक्षा र आर्थिक क्षेत्रमा आमुल रुपान्तरण आवश्यक छ, मन्त्री महतोले भन्नुभयो–‘आर्थिक रुपमा रुपान्तरणका लागि देशभर सञ्जाल भएको र ७३ लाख जनता सहभागी भएको सहकारी क्षेत्र सबै भन्दा महत्वपूर्ण छ ।’

संविधानले महिलालाई राज्यका सबै क्षेत्रमा सहभागिताका लागि व्यवस्था गरेको छ, सहभागिता मात्रले हुदैन अव महिलाहरुको अर्थपूर्ण सहभागिता गराउन ध्यान दिने गरी काम गर्न उहाँले आग्रह गर्नु भयो । समृद्ध समाज निर्माणका लागि सहकारी र राज्य संगसंगै अगाडि बढ्नु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा संघीय सांसद एवं नेपाल सूचना तथा सञ्चार सहकारी संघका उपाध्यक्ष मन कुमारी केसी जिसीले सहकारी मार्फत आर्थिक तथा सामाजिक रुपान्तरणका लाििग महिलाहरुको सहभागिता र क्षमता अभिवृद्धिमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले १५ औं पञ्चवर्षीय योजनाले समृद्ध समाज निर्माणका लागि सहकारी क्षेत्रलाई महत्वपूर्ण स्थानमा राखेको भन्दै स्थानीय तहसंग समन्वय गरेर सहकारीहरुले उत्पादनशिल र मर्यादित रोजगारी सिर्जनामा योगदान गर्नु पर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले हरेक क्षेत्रमा महिलाहरुको सहभागिता संविधानले व्यवस्था गरे अनुसार हुनु पर्नेमा जोड दिदै सहकारी क्षेत्रमा महिलाको सहभागिता अनुसार नेतृत्वमा ल्याउन सबैको जोड हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल लगायतले सहकारी क्षेत्रमा महिलाको सहभागिता प्रभावकारी रहेको, महिलाले सञ्चालन गरेका सहकारीहरु व्यवस्थित रहेको चर्चा गर्दै नेतृत्वमा समेत महिला सहभागितामा जोड दिनु पर्ने बताउनु भएको थियो ।

महासंघका अध्यक्ष मीनराज कंडेलको अध्यक्षता, सञ्चालक तथा महिला उपसमितिका संयोजक अमृता सुब्बाको स्वागत, सञ्चालक पद्मा गुरुङको धन्यवादमा सम्पन्न कार्यक्रमको सञ्चालन महासंघका महाप्रन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले गर्नु भएको थियो ।

२ दिनसम्म चल्ने गोष्ठीको पहिलो दिन सांसद डा.बिमला राई पौडेलले लैंगिक समानताको मुल प्रभाहीकरणमा सहकारी, चुनौती र आगामी कार्यदिशा विषयक तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महिला समावेशिताका लागि नीतिगत व्यवस्था र सहकारीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत कार्यपत्रमाथि देशभरबाट आएका सहकारीकर्मी महिलाहरुले दिएका सुझाव तथा प्रतिक्रियाका आधारमा गोष्ठीको घोषणापत्र तयार गरिने आयोजकले जनाएका छन् ।

गोष्ठीको दोस्रो दिन सोमबार महिला समावेशिताका लागि संघले गरेको प्रयास र चुनौतीहरु विषयमा महासंघका तर्फबाट तथा राष्ट्रिय सहकारी बैंक र केन्द्रीय सहकारी संघहरुका तर्फबाट प्रस्तुती रहने कार्यक्रम रहेको छ ।

यस्तै सिर्जनशिल कृष्टल उद्योग काठमाडौका कमला सुवेदी र विन कोअपरेटिभ ललितपुरका मल्लिका श्रेष्ठले सफलताको कथा प्रस्तुत गर्ने कार्यक्रम रहेको महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जिसी (अञ्जु) ले काठमाडौंबाट जानकारी दिनु भएको छ ।

गोष्ठीमा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय सहकारी संघहरु, प्रदेश सहकारी संघ, जिल्ला सहकारी संघहरु, विषयगत सहकारी संघहरु तथा प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु गरी २ सय जनाको सहभागिता रहेको जिसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *