पत्रकार महासंघको चुनावमा १० संगठनको गठबन्धन

आदर्श अनलाइन, काठमाडौँ
नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनमा नेपाली कांग्रेसदेखि गोपाल किरातीको पार्टीसहित गरी १० वटा राजनीतिक दल आवद्ध पत्रकार संगठनहरूबीच गठबन्धन बनेको छ । १० पार्टीको गठबन्धनमा नेकपा एमालेको माधव नेपाल पक्षधर समूह समेत सहभागी भएको छ ।

शुक्रबार भएको सहमति अनुसार आसन्न निर्वाचनमा ‘प्रतिगामी कदमविरुद्ध’ रहेका पत्रकारहरूका संगठनबीच सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्ने भनिएको छ । एमालेआवद्ध प्रेस चौतारी नेपाल भने गठबन्धनमा छैन ।

तर चौतारीको उपाध्यक्ष विश्वमणी सुवेदीले सहमतिमा हस्ताक्षर गरेका छन् । नेकपा विभाजनपछि प्रचण्ड-माधव पक्षमा लागेका पत्रकारहरूको तर्फबाट उनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । चौतारीका अध्यक्ष गणेश बस्नेतले भने मतदाता नामावली नै फर्जी भएको भन्दै निर्वाचन समितिमा उजुरी दिइसकेका छन् ।

गठबन्धनको सम्झौतामा कांग्रेसनिकट प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, माओवादीनिकट प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, मोहन वैद्यनिकट क्रान्तिकारी पत्रकार महासंघका कावा अध्यक्ष नारायण पंगेनीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै विप्लवनिकट जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विक, विप्लवनिकटकै विद्रोही समूह क्रान्तिकारी पत्रकार संठनका महासचिव बाबुराम भुसाल, राप्रपाको मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, गोपाल किरातीको प्रेस सेन्टर नेपालका लोकराज जैशी र नेकपा मालेनिकट देशभक्त पत्रकार संघका अध्यक्ष तेजेन्द्र प्रसाईले पनि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *