राष्ट्रिय सहकारी महासंघले बनायो प्रदेश समन्वय उप–समिति

आदर्श अनलाइन, बागलुङ
नेपालको सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले आफ्नो कामलाई थप प्रभावकारी बनाउनका लागि प्रदेश स्तरीय समन्वय उप–समिति गठन गरेको छ ।

सहकारी अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ महासंघको हालै सम्पन्न वैठकले सात वटै प्रदेशमा समन्वय उप–समिति गठन गर्ने निर्णय गरेको हो । महासंघको संरचनामा पहिलो पटक प्रदेश स्तरीय उप–समिति गठन गरिएको अध्यक्ष मिनराज कंडेलले जानकारी दिनुभयो ।

प्रदेश स्तरीय उप–समितिले महासंघका निर्णयहरु आम सहकारीकर्मीहरुका बीचमा लैजानुका साथै सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधानका लागि समन्वय र सहकार्य लगायतका काम गर्ने अध्यक्ष कंडेलले बताउनुभयो ।

महासंघमा प्रदेशबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संयोजकत्वमा गठन हुने प्रदेश समन्वय उप–समितिका सदस्यहरुमा सम्बन्धित प्रदेशबाट महासंघमा प्रतिनिधित्व गर्ने अन्य सञ्चालकहरु, प्रदेश सहकारी संघ, प्रदेश विषयगत सहकारी संघहरु र जिल्ला सहकारी संघका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था महासंघले गरेको छ । पदेन सदस्यहरु बाहेक सम्बन्धित प्रदेश भित्र सहकारी क्षेत्रमा क्रियाशिल सहकारीकर्मीहरु मध्ये ५ जनालाई मनोनित गर्ने व्यवस्था गरिएको अध्यक्ष कंडेलले बताउनुभयो ।

महासंघको निर्णय अनुसार गण्डकी प्रदेशको समन्वय उप–समितिको संयोजकमा महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) तथा सदस्यहरुमा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष केशव प्रसाद सापकोटा, स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल, बागलुङका अध्यक्ष दिपक गौतम, कास्कीका अध्यक्ष सावित्रा कोइराला, म्याग्दीका अध्यक्ष दिपक कार्की, तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, गोर्खाका अध्यक्ष बाबुराम कोइराला र लम्जुङका अध्यक्ष विजय गुरुङ रहनु भएको छ ।

मनाङ र मुस्ताङमा जिल्ला सहकारी संघ स्थापना नभएको र पर्वतमा जिल्ला सहकारी संघका अध्यक्षको निधन भएकाले जिल्लाबाट प्रतिनिधित्व गर्ने पदेन सदस्य खाली रहेको छ । महासंघले गण्डकी प्रदेश समन्वय उप–समितिमा पर्वतबाट देवी क्षेत्री र पोखरा महानगरपालिका सहकारी समन्वय समितिका अध्यक्ष तेजनारायण अधिकारीलाई सदस्यमा मनोनयन गरेको महासंघका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *