बागलुङका पूर्व जिविस सभापति थापा एमाले गण्डकी प्रदेश सह-इन्चार्ज

आदर्श अनलाइन,बागलुङ

संसद् विघटनको समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बागलुङका लीलबहादुर थापाले एमाले गण्डकी प्रदेश सह-इन्चार्जको जिम्मेवारी पाउनुभएको छ ।

ओलीले संसद् विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन आउँदा थापाले पुष्पकमल दाहाल (प्रचण्ड)को साथ छाड्नु भएको थियो ।

एमाले अध्यक्ष ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार नेताहरूको जिम्मेवारी हेरफेर गर्दा थापाले प्रदेश सहइन्चार्ज बन्ने मौका पाउनुभएको हो । राष्टिय जनमोर्चाबाट राजनीति सुरु गरेका बरेङ गाउँपालिका-२ हुग्दिशिरका थापा माओवादीका केही पूर्वलडाकु सहित माघ दोस्रो साता ओली समूह प्रवेश गर्नुभएको थियो।

२०५४ सालदेखि ५ वर्षसम्म तत्कालीन जिल्ला विकास समिति बाग्लुङ सभापति रहनुभएका लीलबहादुर राजमो छोडेर २०६३ पछि माओवादी प्रवेश गर्नुभएको थियो । थापा एकीकृत नेकपामा केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

अहिले ओलीतिर लाग्नुभएका टोपबहादुर रायमाझीसँग घनिष्ठता भएका थापा रायमाझी स्थानीय विकास मन्त्री हुँदा उहाँको राजनीतिक सल्लाहकार हुनुभएको थियो । राष्ट्रिय भलिबल संघको केन्द्रीय उपाध्यक्ष भएका थापामगर गत साउनमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बन्न कसरतमा समेत हुनुहुन्थ्यो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले रमेशकुमार सिलवाललाई दोस्रो कार्यकालको जिम्मेवारी दिनुभयो ।

थापामगरसहित गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, संघ सरकारकी बहालवाला कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याललाई पनि सहइन्चार्जको जिम्मा दिइएको छ । गुरुङ यसअघि पनि सहइन्चार्ज थिए । एमालेका प्रभावशाली एवं पार्टी अध्यक्ष केपी ओलीनिकट नेता खगराज अधिकारीको नाम सह-इन्चार्जको सूचीमा छैन । यसअघि सहइन्चार्ज रहेका अधिकारी स्वयंले प्रदेश सहइन्चार्जमा नबस्ने इच्छा देखाएका हुन् । प्रदेशमा बस्न इच्छा नदेखाएका अधिकारीले केन्द्रमा जिम्मेवारी चाहेको अधिकार निकट स्रोत बताउँछ ।

नेकपा हुँदा प्रदेश इन्चार्ज रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको जिम्मेवारी यथावत छ । माओवादीतर्फका नेता हितराज पाण्डे अध्यक्ष थिए । एमालेमा जिम्मेवारी हेरफेरअनुसार पार्टीको प्रदेश अध्यक्ष पूर्वखेलकुदमन्त्री जगत विश्वकर्मा र सचिव गोविन्दबहादुर नेपाली भएका छन् । गत २८ फागुनमा पार्टीको केन्द्रीय बैठकले नेकपा केन्द्रीय सदस्य विकलाई प्रदेश अध्यक्ष तोकेको थियो । एमाले सचिव रहेका नेपाली तत्कालीन माओवादी र एमाले एकीकरण भएपछि पनि सोही जिम्मेवारीमा थिए । नेपाली हाल गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङका राजनीतिक सल्लाहकार छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *