बडिगाडमा नागरिक आरोग्य सेवा केन्द्र

कमल पौडेल, बडिगाड
बडिगाड गाउँपालिका वडा नम्बर २ खर्बाङमा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आएको छ । बुधबार सेवा केन्द्रको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले नागरिकको स्वास्थ्य सेवामा केन्द्रले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो ।

उहाँले स्वस्थ रुपमा जिउनको लागि सहि आहार र विहार हुनु पर्ने बताउनुभयो । प्राकृतिक जडिबुटिले रोगको निदान गर्ने भन्दै अध्यक्ष पाइजाले सेवा केन्द्र व्यवस्थित गराउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का सुनिल शेरचन, नेपाली कांग्रेसका डालेश्वर भुसाल, वडा नम्बर २ का अध्यक्ष ढाल प्रसाद शेरचन लगाएय मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम धौलागिरी आयुर्वेद औषधालय बागलुङका व्यवस्थापन समितिका अध्यक्ष राजिव घिमिरेको अध्यक्षता, औषधालयका प्रमुख डा. सरोज कुमार रायको स्वागत र लेखा अधिकृत देव शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटनकै अवसर पारेर १ दिने वृहत निःशुल्क आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर खर्बाङमा सम्पन्न भएको छ । शिविरमा १ सय ५७ जना महिला तथा ७१ जना पुरुष गरि २ सय २८ जना बिरामीहरुले सेवा लिएका छन्।

शिविरमा धौलागिरी आयुर्वेद औषधालय बागलुङका डा. राय, जैमिनी आयुर्वेद औषधालयका शाखा प्रमुख डा. लक्ष्मी प्रसाद शर्मा लगायतका स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

चालु वर्षमा बागलुङ जिल्लामा २ वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने कार्यक्रम अनुसार बडिगाड गाउँपालिकामा केन्द्र स्थापना भएको हो । जिल्लामै अर्को ताराखोला गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने कार्यक्रम रहेको औषधालय व्यवस्थापन समितिका घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *