आदर्श अनलाइन, तनहुँ
बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि तनहुँकाे बन्दीपुर गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ हुँदा रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो ।
गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, घरबास सञ्चालन र सीपमूलक तालीमको व्यवस्था गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाअन्तर्गत रहेका छ वडामा १० वटा घरबास सञ्चालन हुँदै आएका छन् । वडा नं २ चण्डिनी पिपलथोकस्थित बन्दीपुर सामुदायिक होमस्टे २२ जना महिला मिलेर सञ्चालन गर्दै आएको सचिव माया सुनारले बताउनुभयो ।
कोरोना रोगको न्यूनीकरणसँगै घरबासमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै गएकाले थप हौसला मिलेको उहाँले बताउनुभयो । विशेष गरी उक्त घरबासमा क्याम्पसका विद्यार्थी, सहकारी संस्था, आमा समूह, कर्मचारी आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गए पनि बाह्य पर्यटक फाट्टफुट्ट देखिन थालेको सचिव सुनारले बताउनुभयो ।
डेढ सयदेखि दुई सयसम्म पर्यटक राख्न सकिने क्षमताका घरबास रहेको र अहिले दैनिक ४० देखि ६० जनासम्म आन्तरिक पर्यटक आउने गरेको उहाँले बताउनुभयो । बेलुका खाना खानुअघि खाजा, खाना, बास, बिहान खाजा र खाना गरी रु ७०० को प्याकेज रहेको छ । आगामी वैशाख १ गतेदेखि प्याकेज शुल्कमा केही वृद्धि गर्ने योजना रहेको घरबास सञ्चालकले जनाएका छन् ।
गाउँगाउँमा घरबास सञ्चालन गर्न थालेपछि महिला व्यस्त हुने र पुरुष बाख्रा, कुखुरा, तरकारीलगायतका व्यावसायिक काममा लाग्न थालेपछि स्थानीयवासी स्वरोजगार बन्दै गएको घरबासकी अध्यक्ष दिलकुमारी रानाले बताउनुभयो ।