बलेवा एकता साकोसको वित्तीय साक्षरता तालिम सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानस्थित बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको २ दिने वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिम शनिवार सम्पन्न भएको छ ।

बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर सेवा केन्द्र अन्तरगतका शेयर सदस्यहरुका लागि सञ्चालित तालिमका सहभागीहरुले सहकारी ऐन र नियम अनुसार एउटामात्र सहकारी रोजेर कारोबार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहकारीका बारेमा धेरै कुरा थाहा थिएन, सहभागी शेयर सदस्यहरुले भने–‘तालिमपछि सहकारीमा कसरी आवद्ध हुने, कुन सहकारीमा सदस्य बन्ने र कारोबार कसरी गर्ने भन्ने विषयमा जानकारी भयो, अबदेखि एउटै सहकारीमा केन्द्रीत भएर कारोबार गर्छौ ।’

सहकारीका सदस्यहरुलाई उनीहरुको काम कर्तव्य र अधिकारसंगै सहकारीको संस्थागत विकासमा सदस्यहरुको भूमिकाका बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका प्रवन्धक भरत पौडेलले जानकारी दिनुभयो ।

सदस्यहरुलाई सक्रिय बनाउदै संस्थाले लिएको लक्ष्य अनुसार काम गर्न तालिम सहयोगी भएको छ, प्रवन्धक पौडेलले भन्नुभयो–‘तालिमपछि सदस्यहरु उत्साहित हुनु भएको छ, अबका दिनमा बलेवा एकतालाई थप प्रभावकारी बनाउन सदस्यहरुको सक्रिय र प्रभावकारी सहभागिताको अपेक्षा गरेका छौ ।’

तालिमका प्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यहरुको चाहना र आवश्यकतालाई मध्यनजर गरी योजना बनाउने र उनीहरुको सक्रिय सहभागितामा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

तालिममा अमलाचौर सेवा केन्द्र अन्तरगतका ५० जना अगुवा शेयर सदस्यहरुको सहभागिता रहेको थियो । तालिम समापनका अवसरमा नेपालको सहकारी अभियानलाई अगाडि बढाउन निरन्तर क्रियाशिल रहेको भन्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीलाई संस्थाका तर्फबाट सम्मान गरिएको थियो ।

बागलुङ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष गुरुदत्त पाठक र संस्थाका पदाधिकारीहरुले सहकारी अभियानमा थप उन्नती प्रगतिको कामना गर्दै दोसल्ला ओढाएर जिसीलाई सम्मान गर्नु भएको थियो ।

लामो समयदेखि सहकारी अभियानमा सक्रिय रहदै जिसीलाई बलेवा एकता सहकारी संस्थाले सम्मान गरेर थप अगाडि बढ्न प्रेरित गरेको वडा अध्यक्ष पाठकले बताउनुभयो । २०५० साल चैत २६ गते तत्कालिन जिल्ला सहकारी संघ लिमिटेड बागलुङको सहायक प्रवन्धकका रुपमा सहकारी अभियानमा क्रियाशिल जिसी रेश बहुेद्दश्यीय सहकारी संस्थाको अध्यक्ष, आदर्श सञ्चार सहकारी संस्थाको सचिव, धौलागिरी सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाको सचिव, जिल्ला सहकारी संघ बागलुङको अध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

धौलागिरीको सहकारी अभियानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका जिसी सहकारीमार्फत सञ्चारमाध्यमको संस्थागत विकासको शुरुवात गरी सहकारी र सञ्चार क्षेत्रमा निरन्तर रुपमा क्रियाशिल रहनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *