नवआगन्तुक प्रहरी प्रमुख र मालपोत प्रमुखलाई मगर समाजको स्वागत

आदर्श अनलाइन, बागलुङ
बागलुङका नवआगन्तुक प्रहरी प्रमुख र मालपोत कार्यालयका प्रमुखलाई मगर समाज सेवा गुठीले स्वागत गरेको छ । समाजले मगर संघको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी हालै जिल्लामा आउनुभएका प्रहरी उपरीक्षक कृष्ण पल्ली मगर र मालपोत कार्यालयका प्रमुख देवेन्द्र थापालाई स्वागत गरेको हो ।

समाजका अध्यक्ष टीकाराम थापा, लांघाली परिवारका संस्थापक महासचिव केवी राना मगर, नेपाल मगर संघ बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेश समितिका प्रथम उपाध्यक्ष गणेश थापा मगरले भांग्रा र फेटा लगाएर जिल्लामा स्वागत सहित कार्यकाल सफलताको कामना गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक कृष्ण पल्लीले मगर समुदायको उल्लेख्य जनसंख्या रहेको जिल्लामा राजनीतिक सचेतता र सहभागिता राम्रो भए पनि सामाजिक जागरण, शिक्षा र सचेततामा अझै थप ध्यान दिन आवश्यक देखिएको बताउनुभयो । मगर समुदायबाट प्रहरीको अहिलेको तहमा आए पनि राज्यका नियम र निर्देशन कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेकाले सोही अनुसार भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा मालपोत कार्यालयका नवआगन्तुक कार्यालय प्रमुख देवेन्द्र थापाले मगर समुदाय लगायतको अभियान र आन्दोलनबाट स्थापित समावेशी व्यवस्था अनुसार आफू अहिले राष्ट्र सेवामा समर्पित हुने अवसर पाएको बताउनुभयो ।

कार्यक्रममा लांघाली परिवारका संस्थापक महासचिव केवी राना मगर, नेपाल मगर संघ बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेश समितिका प्रथम उपाध्यक्ष गणेश थापा मगर, नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष दिल शिरीष, नेपाल मगर संघ नगर प्रारम्भिक समितिका अध्यक्ष हिराबहादुर थापाले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मगर समाज सेवा गुठीका अध्यक्ष टीकाराम थापाको अध्यक्षता, नेपाल मगर संघ जिल्ला कार्यसमितिका सचिवालय सदस्य कुसुम बुढा मगरको स्वागत मन्तव्य र जिल्ला सदस्य श्याम पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *