स्वास्थ्य सतर्कताका साथ सेवा प्रवाह गर्न सहकारीहरुलाई विभागको निर्देशन

आदर्श अनलाइन, बागलुङ
कोभिड १९ को संक्रमण बढ्दै गएपछि स्वास्थ्य सतर्कता अपनाएर सेवा प्रवाह गर्नका लागि सहकारी विभागले सहकारी संघ संस्थाहरुलाई निर्देशन गरेको छ । विभागले सोमबार सार्वजनिक सूचना जारी गरेर सहकारी संघ संस्थाहरुलाई ७ बुदे निर्देशन जारी गरेको हो ।

विभागले कोभिड १९ को संक्रमण बढ्दै गएकोले कोभिडको जोखिमलाई न्यूनिकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कता सहित सेवा प्रवाहका लागि निर्देशन दिएको हो ।

विभागले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनबाट जारी गरिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण रुपमा परिपालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीहरुमा संक्रमणलाई न्यूनिकरण गर्न आवश्यक गर्ने उपायहरु अवलम्बन गर्न आग्रह गरेको छ ।

सहकारी संघ संस्थाहरुले काउण्टरमा भिडभाड नहुने तथा आवश्यक भौतिक दुरी कायम हुने गरी मात्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन, काउण्टरमा संक्रमण जोखिम न्यूनिकरण गर्नका लागि आवश्यक पर्ने सेनिटाइजर, टिस्यू पेपर, थर्मलगनको व्यवस्था गरी काउण्टरको ढोकालाई खुल्ला गरी सेवा प्रवाह गर्न आग्रह गरेको छ ।

यस्तै सहकारी संघ संस्थाहरुबाट सञ्चालन गरिने बैठक, गोष्ठी, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दुरी सुनिश्चित गर्ने तथा संभव भएसम्म अभौतिक (भर्चुअल) माध्यमबाट सञ्चालन गर्न विभागले निर्देशन गरेको छ ।

कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै संक्रमणको जोखिम हुने गरी सेवा प्रवाह गर्न, संभव भएसम्म कर्मचारीहरुलाई समुह विभाजन गरी काम गर्ने व्यवस्था मिलाउन, बजारमा खटिएर नगद संकलन गर्ने कर्मचारीहरुको आवश्यकता अनुसार पिसिआर गराइ रहन विभागले आग्रह गरेको छ ।

विभागले जारी गरेको निर्देशनमा समुदायस्तरमा कोभिड–१९ को संक्रमण फैलिई महामारीको विशेष अवस्था आई पर्न सक्ने परिस्थितिलाई समेत आंकलन गरी सहकारी संघ संस्थाहरुले आवश्यक कामलाई निरन्तरताका लागि विस्तृत कार्य योजना तयार गरी समानुकुल अद्यावधिक गर्न, सहकारी संघ संस्थामा आउन सक्ने तरलता अभावका लागि समयमै सञ्चालक समितिले विशेष कार्ययोजना तयार गरी सोही कार्य योजना अनुसार काम गर्ने व्यवस्था मिलाउन र विभागले विगतमा जारी गरेका कोभिड–१९ को संक्रमण जोखिम न्यूनिकरण गरी सेवा सुचारु गर्नका लागि जारी गरेका निर्देशनहरुको पूर्ण पालना गर्न विभागले निर्देशन जारी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *