बाँकेको बैजनाथमा ‘कारोना रोकथामका लागि एमाले’ अभियान शुरु

आदर्श अनलाइन, बाँके
मुलुकमा बढ्दै गएको कोभिड–१९ को संक्रमण न्यूनिकरणका लागि नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटि बाँकेले कोरोना रोकथामका लागि एमाले अभियान सञ्चालन गरेको छ ।
पार्टीको आइतवार सम्पन्न दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिले सिंगो पार्टी पंक्तिलाई कोरोना संक्रमण नियन्त्रणमा सक्रिय भएर लाग्न निर्देशन गरेको भोली पल्ट सोमबारदेखि नै एमाले बैजनाथ कमिटिले अभियान शुरु गरेको हो ।

गाउँपालिका कमिटिको सोमबार सम्पन्न वैठकले ८ वटै वडामा कोरोना संक्रमण नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । वैठकले अभियान सञ्चालनका लागि सबै वडामा सम्पर्क व्यक्ति समेत तोेकेको छ । एमालेले बैजनाथ गाउँपालिका वडा नं. १ मा मन कुमारी चन्द, २ मा शेर बहादुर बस्नेत, ३ मा भागीराम थारु, ४ मा शेरचन थकाली, ५ मा लील बहादुर नेपाली, ६ मा दिल विश्वकर्मा, ७ मा महेश थारु र ८ मा प्रेम बहादुर खत्रीलाई सम्पर्क व्यक्ति तोकेको हो ।

सम्पर्क व्यक्तिसंगै प्रत्येक वडामा ५/५ जनाको खोज तथा उद्धार समुह गठन गरेर कोरोना रोकथामको अभियानलाई तिब्रता दिइएको नेकपा एमाले बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कमिटिले देशभरका पार्टीका नेता कार्यकर्तालाई कारोना नियन्त्रणका लागि सक्रियता पूर्वक खटिन निर्देशन गरेको छ, अध्यक्ष सुवेदीले भन्नुभयो–‘हामीलाई पार्टीको सर्कुलर त प्राप्त भएको छैन, तर समाचारमा पार्टीको निर्णय सुनेका आधारमा पार्टी निर्देशन कार्यान्वयनका लागि पालिका कमिटिले अभियान सञ्चालन गरेको हो ।’

कोरोना संक्रमण बढ्न नदिन पहिलो काम सचेतना वृद्धि गर्ने हुनेछ । त्यसका लागि माइकिङ, पर्चा पप्लेट वितरण, घरघरमा पुगेर भेटघाट गरी माक्स र सेनिटाइजरको प्रयोग गर्न सिकाउने लगायतका काम गरिने अध्यक्ष सुवेदीको भनाइ छ । एफएम रेडियोबाट सन्देश प्रवाह गर्ने तथा कोरोना संक्रमित भइसकेपछि उपचारका लागि होम आइसोलेसनमा बस्दा ध्यान दिनु पर्ने कुराहरु, खानपान लगायतका विषयमा जानकारी गराइने उहाँले बताउनुभयो ।

एम्बुलेन्सको उपलब्धताका लागि सम्बन्धित निकायलाई जानकारी गराउने तथा एम्बुलेन्स उपलब्ध नहुने अवस्थालाई मध्यनजर गरी प्रत्येक वडामा एक एक वटा अटोको व्यवस्था गरेका छौ, अध्यक्ष सुवेदीले भन्नुभयो–‘अटोका चालकको स्वास्थ्य परिक्षणसंगै पिपिइको व्यवस्था पनि पार्टीले गरेको छ ।’

संकटमा एमाले जनताको साथमा छ भन्ने अनुभूति जनतालाई दिलाउन पार्टी केन्द्रीय कमिटिले गरेको निर्देशन प्रभावकारी कार्यान्वयनका लागि पार्टीको सिंगो गाउँपालिका कमिटि जुटेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । भिडभाड नगरी ५ जनाको खोज तथा उद्धार समुह मार्फत आम जनतामा कोरोना संक्रमण हुन सक्ने अवस्थाको जानकारी, संक्रमणबाट जोगिने उपाय र संक्रमण भइसकेपछि गर्नु पर्ने कामका बारेमा सचेतना प्रदान गर्ने कामको शुरुवात आजैदेखि गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *