धौलागिरीका सहकारीकर्मीलाई नीति निर्माण तालिम

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजना सहकारी नीति निर्माण विषयक एक दिने तालिम आइतवार सम्पन्न भएको छ ।

बागलुङ शाखा अन्तरगत धौलागिरी क्षेत्रका सहकारी संघ संस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई लक्षित गरी भर्चुअल माध्यमबाट तालिम सञ्चालन गरिएको थियो ।

सहकारीहरुलाई सक्षम रुपमा सञ्चालनका लागि योजनावद्ध तरिकाले अगाडि बढाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा धौलागिरी क्षेत्रका विभिन्न सहकारी संघ संस्थाका १ सय ३० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

तालिमको शुभारम्भ गर्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सबै सहकारीहरुले आफ्नो उदेश्य अनुसारको लक्ष्य निर्धारण गरी योजनावद्ध तरिकाले अगाडि बढ्न सकेमा मात्रै सहकारी क्षेत्रले सोचे जति प्रतिफल प्राप्त गर्ने बताउनु भएको छ ।

सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सहकारीहरुको आवश्यकता र चाहनालाई केन्द्रीत गरी योजना निर्माण गर्न र सोही अनुसार काम गर्न उहाँले सहकारीकर्मीहरुलाई आव्हान गर्नु भयो ।
कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले देशभरका सहकारीहरुको प्रद्धर्वनका लागि सञ्चालित राष्ट्रिय सहकारी बैंकसंग सहकार्य गरेर संस्थालाई नीतिगत रुपमा प्रभावकारी र प्रविधिगत रुपमा सक्षम बनाउन सुझाव दिनुभयो । उहाले सहकारीहरुको संस्थागत विकासका लागि बैंकले सञ्चालन गरेको सहकारी स्तरीकरण कार्यक्रममा सहभागी भई संस्थाको स्वास्थ्य सुधारमा लाग्न सबै सहकारीहरुलाई आग्रह गर्नु भयो ।

बैंकको तालिम विभागका अधिकृत सूर्य रिमालले सहकारीमा योजना निर्माण प्रक्रिया, संस्थाको उद्देश्य तथा लक्ष्य निर्धारण, प्रभावकारी अनुगमन तथा मूल्यांकनका लागि आवश्यक विषयहरु लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

बैंकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले स्वागत गरेको तालिम कार्यक्रमको सञ्चालन तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *