राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा विघटन, मध्यावधि चुनाव आह्वान

आदर्श अनलाइन, काठमाडौँ
मन्त्रिपरिषद्को सिफारिसमा  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको छ  । यस्तै उहाँले आगामी कात्तिक २६ र मंसिर ३ गते  मध्यावधि निर्वाचनको घोषणा समेत गर्नुभएको छ  ।

त्यसअघि मध्यरातमा प्रधानमन्त्री निवास बालुवाटारमा  सम्पन्न मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिनुभएको समयमा परेका दुवै दावी खारेज गर्नुभएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको थियो ।

संसद भंग गर्नुअघि राष्ट्रपति भण्डारीले शुक्रबार राति  प्रधानमन्त्री पदमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गर्नुभएको थियो  ।

राष्ट्रपति कार्यालयले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेकपा(एमाले)का १२१ र जनता समाजवादी पार्टी नेपालका ३२ सदस्यको समर्थन प्राप्त भएको दावी गरे पनि एमालेका २६ र जसपाका १२ जनाले अर्का दावीकर्ता कांग्रेस सभापति देउवालाई हस्ताक्षर गरेको देखिएको जनाइएको छ ।

त्यस्तै सभापति देउवालाई कांग्रेसका ६१, नेकपा(माओवादी केन्द्र)का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर भए पनि एमाले र जसपा पार्टी र संसदीय दलका अध्यक्षका तर्फबाट आफ्ना दलका सदस्यको सो हस्ताक्षरलाई अस्वीकृत गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दावीकर्ता दुवै प्रतिनिधिसभा सदस्यका समर्थक भनिएका सदस्य एकार्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखिआएको तथा संविधानको धारा ८९ एवं राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई ध्यानमा राख्दा दुवैले विश्वास प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ । राष्ट्रपतिले शुक्रबार  साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दावी गर्न प्रतिनिधिसभा सदस्यलाई आह्वान गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *