इराकसंगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित

आदर्श अनलाइन

इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ ।

पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोरेको हो ।

पहिलो हाफमा एक समय अग्रता समेत लिएको नेपालले पहिलो हाफको अन्त्यतिर लगातार तीन गोल खाएपछि खेलमा पकड गुमाएको थियो । दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति कायम नै राख्दा नेपाल भने कमजोर सावित भयो । नेपालभन्दा निकै माथिल्लो स्तरको इराकविरुद्ध नेपालको प्रदर्शन भने विगतभन्दा केहि सुधारिएको देखियो । विशेषगरि पहिलो रोजाइको खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।

खेलको दोस्रो मिनेटमा नै कर्नरमा हेडीङ गर्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा जुध्दा मुख्य डिफेन्डर रोहित चन्द घाइते हुन पुगेका थिए । खेलको सातौं मिनेटमा नै इराकले सुरुवाती अग्रता बनायो । कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो ।

तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रहयो । इराकका खेलाडी गोलको खुसियाली मनाएर संयम हुन नपाउँदै गरेको आक्रमणमा अन्जन विष्टको प्रहार क्लियर गर्ने धुनमा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो ।

१३ औं मिनेटमा अन्जनले डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गरेको प्रहारलाई गोलरक्षक फाहद तालिम रहिमले बचाए । त्यस लगत्तै इराकले केहि मुभ सिर्जना गरेपनि नेपालको डिफेन्स चिर्न सकेन । सुरुवाती १५ मिनेटपछि खेलको गति केहि सुस्त हुँदा इराकले बल पोसेसनमा पकड जमाउन सुरु गरेको थियो ।

२७ औं मिनेटमा किरणले क्रसमा आएको हेडरलाई बचाउँदै खेल १(१ को बराबरीमा राखे । त्यसकै काउन्टरमा सिर्जना भएको आक्रमणमा मनिष डाँगीले पेनाल्टी क्षेत्रबाहिर बल नियन्त्रण गर्न खोज्दा ह्याण्ड भएपछि नेपालको आशालाग्दो आक्रमण रोकिएको थियो । नेपालले खेलको ३० औं मिनेटमा मनिषको गोलमा अग्रता लियो । उनले सन्तोष तामाङको चलाखीपूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोल गरेका थिए । गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गरेका थिए ।

३६ औं मिनेटमा कप्तान किरणले क्रसमा आएको हेडरलाई विफल पार्दै नेपालको अग्रता जोगाएका थिए । ३८ औं मिनेटमा इराकले बराबरी गोल फर्कायो । कर्नरमा आएको बललाई मोहमद अब्दुल्जारा ओबेदले ६ अर्ड बक्स नजिकबाट हेडरमार्फत गोल गर्दै बराबरी गोल फर्काए ।

त्यसको एक मिनेट नबित्दै इराकले अग्रता लियो । डिफेन्समा समन्वय नहुँदा अयमन हुसेन गबधनले पेनाल्टी क्षेत्रभित्र बल पाएर गोलरक्षक किरणलाई छलाउँदै इराकलाई अग्रता दिलाए ।

६८ औं मिनेटमा सुमन अर्यालको खराब ब्याक पासको फाइदा उठाउँदै इराक ५-२ ले अघि बढ्न सफल भयो । वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले उक्त पासलाई नियन्त्रणमा लिँदै वन भर्सेस वनमा गोल गरेका थिए । खेलको ७४ औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६-२ को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

नेपाल अब जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ ।

नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०(१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *