गण्डकीको बजेट अधिवेशन आजदेखि,सरकार छिनोफानो पनि सँगै

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ।

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन बोलाएको संसद सचिवालयले जनाएको छ। बजेट अधिवेशनको पहिलो दिन दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए।

उनका अनुसार संसदको भोलिको बैठकमा प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने जनाएको छ। बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा पेश गर्नुपर्ने कानुनी प्रावधान छ। उक्त प्रावधानअनुसार बजेटका सिद्धान्त र प्राथमिकता भने संसदले पारित गर्नु पर्दैन।

बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेश गरेपछि सांसदले दिएको सुझावका आधारमा बजेट निर्माण गर्ने गण्डकीका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए। प्रदेश सरकारले असार १ गते संसदमा बजेट पेश गर्नुपर्ने कानुनी बाध्यता छ।

यही अधिवेशनमा अविश्वासको प्रस्ताव दर्ता पश्चात गठित गण्डकी प्रदेश सरकारको समेत छिनोफानो हुँदैछ। गण्डकीका प्रदेश प्रमुख पौडेलले बहुमतको सरकार दाबी नपुगेको भन्दै ठूलो दलका नेताका हैसियतमा एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

संविधानको धारा १६८ उपधारा ३ अनुसार बनेको अल्पमतको सरकारले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यता छ। प्रदेश सरकारले जेठ २९ अघि नै विश्वासको मत लिनुपर्छ। जेठ २५ देखि २७ गतेभित्र विश्वासको मत लिने प्रदेश सरकारले तयारी गरेको जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरूमै सरकारले विश्वासको मत लिनुपर्ने सुझाव दिएको छ। ‘विश्वासको मत लिएपछि मात्रै यो सरकारले बजेट ल्याउन सक्छ, पहिला विश्वासको मत लिनुस् भनेर हामीले सुझाव दिएका छौं’, नेपाली कांग्रेसका सांसद कुमार खड्काले भने, ‘सदनबाट विश्वास नपाउने अवस्थामा ल्याएको बजेटका सिद्धान्त र प्राथमिकता र नीति कार्यक्रमले अर्थ राख्दैन।’

गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धन छ। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न उनीहरूले पार्टी निर्णयसहित वैशाख २९ गते प्रदेश प्रमुखलाई निवेदन दिएका थिए। तर प्रदेश प्रमुख पौडेलले विपक्षी गठबन्धनको पक्षमा बहुमत नपुगेको निष्कर्ष निकालेकी थिइन्।

गण्डकीमा नेकपा एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र १ जना गरी ६० जना सांसद छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *