बजेट सहकारीमैत्री छ : सहकारी अभियान

आदर्श अनलाइन, बागलुङ
नेपाल सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते प्रस्तुत गरेको बजेट सहकारी मैत्री रहेको सहकारी अभियानले ठहर गरेको छ ।

नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले मंगलवार आयोजना गरेको बजेटमा सहकारी विषयक भर्चुअल कार्यक्रमका सहभागीहरुले बजेटले सहकारी क्षेत्रलाई उत्साहित बनाएका बताएका हुन् । संकटको समयमा आएको बजेटले सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रुपमा अगाडि बढाउन सहयोग पुग्ने गरी सम्बोधन गरेको भन्दै अभियानको तर्फबाट बजेटको स्वागत गरिएको छ ।

महासंघका अध्यक्ष मिनराज कंडेलले बजेट सकारात्मक छ भन्दै अभियानको तर्फबाट नेपाल सरकार र अर्थमन्त्री विष्णु पौडेललाई अभियानका तर्फबाट धन्यवाद दिनुभयो । महासंघका तर्फबाट सरकारलाई दिइएका धेरै सुझावहरु कार्यान्वयन भएका छन्, अध्यक्ष कंडेलले भन्नुभयो–‘कार्यान्वयन नभएका सुझावहरुका बारेमा सरकारलाई थप ध्यानाकर्र्षण गराउदै कार्यान्वयनका लागि दवाव दिन्छौ ।’

उत्पादन लगायत वित्तीय सहकारीहरुको प्रवद्र्धनका लागि सरकारले बजेटमार्फत सम्बोधन गरेका सकारात्मक विषयलाई प्रभावकारी कार्यान्वयन र सम्बोधन नभएका विषयहरुलाई सम्बोधनका लागि दवाव दिनु पर्नेमा सहकारीकर्मीहरुको जोड थियो ।

सहकारीकर्मीहरुले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव समेत दिएका छन् । कार्यक्रममा गरिवी निवारण कोषका समूहहरुलाई सहकारीमा सहज व्यवस्थापन गर्न, डिजिटल सेवामा सहकारीको पहुँच अभिबृद्धि गर्न, अनुदानको उचित व्यवस्थापन गर्नेलगायतको विषयलाई सहभागीले विशेष प्राथमिकतासाथ उठाएका थिए ।महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले आर्थिक रुपले मात्र नभई सामाजिक तथा वातावरणीय हिसाबले हेर्दा पनि बजेट सहकारीका लागि उत्कृष्ट रहेको बताउनुभयो । उहाँले बजेटले दिगो विकास लक्ष्यलाई धेरै हिसाबले सम्बोधन गरेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले महासंघले सबै केन्द्रीय विषयगत सहकारी संघ तथा सहकारी बैंकसँग सुझाव लिएर एकद्वार प्रणालीबाट सरकारलाई सुझाव दिन थालेपछि बजेटमा सहकारीका विषय महत्वका साथ समेट्न थालिएको बताउनुभयो । उहाँले कार्यान्वयनको चुनौतीलाई सबै मिलेर सफल पार्ने बताउनुभयो ।

उपाध्यक्ष रमेश पोख्ररेलले प्रविधि र व्यवसायमा जानका लागि बजेटले सहज बनाइदिएको बताउनुभयो । महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारी मैत्री बजेट आएको भन्दै स्वागत गर्नुभयो । महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले डिजिटलाइजेसन लगायतका कतिपय विषयहरु मौद्रिक नीतिमा समेटिने बताउनुभयो । उहाँले सहकारी विभागमा समेत मौद्रिक नीति अनुसार आवश्यक सम्बोधन गराउनका लागि लविङ गर्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले संघीय सरकारको बजेटमा समाविष्ट सहकारीको बुदाहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले अभियानको तर्फबाट महासंघले २०७८ बैशाख १५ गते अर्थमन्त्री विष्णु पौडेल तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङफेलाई पेश गरेको १९ बुँदे सुझाव र बजेटमा समावेश गरिएको विषयहरुको विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रदेश तथा जिल्लास्तरीय सहकारी संघका प्रतिनिधिहरुले बजेटका विषयमा आवश्यक राय पेश गरेका थिए । महासंघले सदस्य संघहरुको सल्लाह अनुसार आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने मार्गचित्र तयार गर्ने बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *