भकुण्डेका २१ संक्रमित परिवारलाई एकसाथ स्वास्थ्य सामग्री र परामर्श

संक्रमित परिवारलाई स्वास्थ्य सामग्री सहित परामर्श दिने क्रममा नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल लगायत ।

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका १० भकुण्डेमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै सोमबार स्वास्थ्य सामग्री र परामर्श प्रदान गरिएको छ ।

कोरोना संक्रमण समुदाय स्तरमा बढ्दै गएकाले संक्रमितलाई प्रदान गर्ने गरि प्रभू बैंकका सीईओ अशोक शेरचनको नेतृत्वमा रहेको बागलुङ कोभिड क्राइसेस टिमको तर्फबाट ४५ हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । ३ हजार थान सर्जिकल मास्क, ५ सय मि.लि.को २४ थान र ५ लि.को एक ग्यालिन सेनिटाइजर उपलब्ध गराइएको टिमका सदस्य तथा नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष दिल शिरीषले बताउनुभयो ।

कोभिड क्राइसेस रेस्पोन्स टिमको तर्फबाट सामग्री हस्तान्तरण गर्दै पत्रकार महासंघका निवर्तमान अध्यक्ष दिल शिरीष ।

यस टिमले केही दिन अघि मात्रै काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका १५ जना संक्रमितलाई १५ हजार बराबरको औषधि उपलब्ध गराएको थियो । त्यसअघि काठेखोला गाउँपालिकाकै वडा नम्बर ३ धम्जा र ५ बिहुँको राहाटेमा संक्रमित र लक्षण सहितका बिरामीको चेकजाँच सहित निशुल्क औषधि प्रदान गरिएको थियो ।

कोरोना संक्रमित र परिवारलाई स्वास्थ्य सामग्री सहित घर भेटका क्रममा संविधान सभा सदस्य नरबहादुर थापा लगायत ।

टिमका तर्फबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्रीमा अन्य व्यक्ति र संस्थाबाट समेत थप गरि बानपा १० भकुण्डेका २१ संक्रमितका परिवारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको स्थानीय अगुवा तथा धौलागिरी एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले बताउनुभयो । उहाँका अनुसार संक्रमित र संक्रमणको जोखिममा भएका परिवारलाई घरमै पुगेर स्वास्थ्य सुरक्षाका सामग्री सहित नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल, धौलागिरी आर्युवेद औषधालयका हरी पौडेलले स्वास्थ्य परामर्श दिनुभएको थियो ।

यस अभियानमा गोबिन्द अधिकारी फाउन्डेसनबाट ३ हजार पिस माक्स, धौलागिरी भेटेरिनरी सेन्टर बागलुङबाट ७ हजार बानपा १ का महेन्द्र आचार्यबाट १० हजार,सचिन आयुर्वेद फर्माबाट ५ हजार,अञ्जली आयुर्वेद फर्माबाट २५ सय बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको शर्माले बताउनुभयो । संक्रमित परिवारलाई बितरण गरेर बाँकी रहेको स्वास्थ्य सामग्री स्वास्थ्य चौकी प्रमुख उमेश सर्बुजालाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँमा संक्रमण दर बढ्दो र थप संक्रमणको जोखिम बढेकाले आवश्यक स्वास्थ्य सुरक्षा सचेतताका लागि गोविन्द अधिकारी फाउण्डेशनको पहल र समन्वयमा संकलन गरी स्वास्थ्य सामग्री प्रदान गरिएको संविधान सभा सदस्य नरबहादुर थापाले बताउनुभयो । यो अभियानलाई आवश्यकता अनुसार फेरि पनि निरन्तरता दिइने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *